डिपिएल : विजेताले ३० लाख रुपियाँ पाउने

Advertisement

काठमाडौं । यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीमा हुने तेस्रो संस्करणको धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको विजेताले ३० लाख रुपियाँ पाउने भएको छ ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले विगतका संस्करणझैँ यसपटक पुरस्कार सर्वाधिक धनराशिको रहने जानकारी दिए।

उनले प्रतियोगिताको पुरस्कार राशिमा २० प्रतिशत बढाइएको बताउँदै प्रतियोगिताको कूल पुरस्कार राशि ६० लाख रहेको बताए। त्यसमा विजेताले ३० लाख रुपियाँ, उपविजेताले १२ लाख, तेस्रो हुनेले चार लाख रुपियाँ तथा चौथो हुने टोलीले दुई लाख रुपियाँ पाउनेछन् ।

आयोजकका अनुसार मैदान तथा प्राविधिक व्यवस्थापनको काम लगभग सकिएको छ । “मैदान तथा पाँचवटा पिच निर्माण सम्पन्न भइसकेको छ । प्रतियोगिता आयोजनाका विभिन्न समितिले पनि आआफ्ना जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिरहेका छन्”, उनले भने ।

“क्रिकेटलाई अझ योजनाबद्ध र व्यावसायिक हिसाबले लैजान धनगढी क्रिकेट एकेडेमी डिसिए जहिलै नयाँ योजनाका साथ आउने गरेको छ, सोही परिवेशमा शहर केन्द्रीत ‘फ्रेन्चाइज’ सोचको क्रिकेटलाई थप परिस्कृतरूपमा अगाडि बढाइरहेका छौँ ।” अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीबाट मान्यता प्राप्त प्रतियोगिता डिपिएल–३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सिवाइसी अत्तरिया, काठमाडौँ गोल्डेन्स र विराटनगर किङ्ग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२ ‘अक्सन’बाट लिइएका खेलाडी स्थानीयसहित, एक रणनीतिक खेलाडी र दुईजना विदेशी खेलाडी रहने छन् ।

प्रतियोगिताको ‘गुडविल एम्बास्डर’मा दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर जोन्टी रोड्स रहेका छन् । रोड्स माघ २४ गते धनगढी आइपुग्ने कार्यक्रम रहेको छ । यस्तै प्रतियोगिताको गोल्डस्टार मोष्ट भेल्युएवल प्लेयरलाई गोल्डस्टार सुनको जुत्ता दिइनेछ । प्रत्येक खेलका नबिल बैंक म्यान अफ द म्याचलाई १५ हजार रुपियाँ, म्यान अफ द सिरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतियोगिता सम्पन्न गर्न  पाँच करोड रुपियाँ लागत खर्च हुने आयोजकको अनुमान छ । पहिलो संस्करणको डिपिएलको बजेट एक करोड ८२ लाख रुपियाँ थियो भने कूल पुरस्कार २८ लाख ५० हजार थियो । यस्तै दोस्रो संस्करणमा तीन करोड रुपियाँको लागतमा प्रतियोगिता सम्पन्न भएको थियो, जसमा विजेतालाई २५ लाख रुपियाँसहित कुल ५० लाख पुरस्कार प्रदान गरिएको थियो ।

यस्तो छ खेल तालिका

पहिलो खेल माघ २६ गते शनिबार दिउँसो १ बजे शुरु हुनेछ । त्यसअघि उद्घाटन कार्यक्रम रहनेछ । प्रतियोगिता टि–२० को आधारमा हुनेछ । लिग चरणमा प्रत्येक टिमले एकापसमा एक–एक खेल खेल्ने छन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।

दोस्रो संस्करणमा झैँ यस संस्करणमा पनि प्रतियोगिताको उद्घाटन समारोहमा डिसिएले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामामा सहभागी एक पूर्व खेलाडीलाई ‘धनगढी क्रिकेट सम्मान’ तथा नेपाली क्रिकेटमा महत्वपूर्ण योगदान दिने एक व्यक्तिलाई ‘अर्जुन खड्का स्मृति सम्मान’ स्वरुप  एक/एक लाख रुपियाँको पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

गत वर्ष धनगढी क्रिकेट सम्मानबाट नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक राजु खड्का तथा अर्जुन खड्का स्मृति सम्मानबाट राखेपका पूर्वप्रशिक्षक अरुणकुमार अर्याल सम्मानित भएका थिए ।

के हो डिपिएल

डिपिएल ‘होटल डिभोटी एसपीए कप’ र नेपालमै पहिलो पटक खेलाडीको अक्सन प्रक्रियाद्वारा आयोजित ‘सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिग’को मर्जरको नयाँ स्वरुप हो । एसपिए कपको शुरुआत सन् २०१० मा गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement