गौतमबुद्धको स्थल लुम्बिनी क्षेत्रमा पूर्वाधारको अभाव

Advertisement

नवलपरासी । लुम्बिनीमा रहेका गौतमबुद्धसम्बन्धी पश्चिम नवलपरासीमा रहेका विभिन्न ऐतिहासिकस्थलमा पूर्वाधारको अभाव देखिएको छ ।

यी स्थलमा आवश्यक पर्ने भौतिक पूर्वाधारसहित सडक, होटल, यातायात प्राकृतिक सुन्दरताको व्यवस्थापनमा ध्यान पुग्न नसक्दा आएका पर्यटकलाई बसोबासमा ठूलो समस्या देखापरेको छ । पश्चिम नवलपरासीमा गौतमबुद्धको अष्टधातु रहेको रामग्राम स्तुप, गौतमबुद्धको मावलीस्थल पण्डितपुर र बौद्धकालीन ताललगायतका स्थल रहेका छन् ।

यी स्थलमा कोरिया, भियतनाम, थाइल्याण्ड, जापान, चीनजस्ता मुलुकबाट सबैभन्दा बढी पर्यटक लुम्बिनी आउँदा यस क्षेत्रमा आउने गर्दछन् । यद्यपि आउने पर्यटकलाई यस्ता ऐतिहासिकस्थल क्षेत्रमा पुग्नका लागि आफ्नै यातायात आवश्यक पर्ने र बासस्थानका लागि होटल नहुँदा पर्यटकलाई निकै समस्या हुने गरेको छ ।

यद्यपि अब भने रामग्राम स्तुप क्षेत्रमा केही होटलको निर्माण कार्य जारी रहेको देखिए पनि पण्डितपुर र बौद्धकालीन ताललगायतका स्थल पर्यटकलाई लक्षित गरी होटल बनाउने कामको शुरुआतसमेत हुन सकेको छैन । पश्चिम नवलपरासी जिल्लाको सदरमुकाम परासी नजिक प्रमुख पर्यटकीयस्थल रामग्राम स्तुप रहेको छ । बुद्धको अस्तुधातु रहेको यस स्थानमा माटोको ढिस्कोमा एउटा रुख र वरपर बगैँचाबाहेक अन्य संरचना केही छैन ।

उत्खनन नगरिएको अस्तुधातु रहेकाले सबैभन्दा पवित्र यसै स्थानलाई मान्ने गरिन्छ । बुद्ध धर्मावलम्बीले यहाँ नआएसम्म आफ्नो दर्शन पूरा भएको मान्दैनन् । तसर्थ बुद्ध धर्मावलम्बीले यस स्थललाई निकै महत्वका साथ लिएको पाइन्छ । लुम्बिनी विकास कोषले प्रभावकारीरुपमा यस क्षेत्रको आर्थिकरुपमा भौतिक पूर्वाधार बनाएर विकास गर्न नसक्ने र जिल्लाका अन्य सरकारी कार्यालयले लगानी गर्न खोज्दा कोषले काम गर्न नदिने भन्दै स्तुपमा विकास निर्माण र आवश्यक संरचना समेत निर्माण हुन सकेको छैन ।

Advertisement

Advertisement

Advertisement