बैकिङ्ग कारोवारका लागि दुई दिन लगाएर सदरमुकाम आउनुपर्ने बाध्यता कायमै

Advertisement

दार्चुला । अपी हिमाल गाउँपालिका–२ का ललितसिह लोथ्याल र बिन्दु लोथ्याल उपभोक्ता समितिको बैंक खाता खोल्न दुई दिन लगाएर सदरमुकाम खलङ्गा आए ।

साविकको घुसा गाविसबाट खलङ्गा आउन दुई दिन र फर्किदा दुई दिन गरी चार दिन समय लाग्छ । बैंकमा उपभोक्ता समितिको खाता खोल्नका लागि अध्यक्ष र कोषाध्यक्षको हस्ताक्षर अनिवार्य छ । त्यसका लागि दुई दिन लगाएर भएपनि दुबै जना खलङ्गा आउन बाध्य भए । खलङ्गा आउन एकतर्फी गाडीभाडा प्रतिव्यक्ति रु एक हजार खर्च भयो । दुई दिन सदरमुकाम खलङ्गामा कागजात बनाउँदा होटल बाँस र खाना खर्च भयो । सामान्य होटल खर्चप्रति दिन प्रतिव्यक्ति ५०० रुपियाँ र खाना दुई छाक ३०० रुपियाँ तिर्नुपर्छ । यसरी दुई जनाको एक पटक खलङ्गा आउँजाउँ गर्दा त्यही १० हजार रुपियाँ भन्दा बढी खर्च हुने गरेको छ ।

गाउँपालिकाको १३ लाख रुपियाँ बजेट लागतमा बर्थिङ सेन्टर निर्माण हुन लागेको हो । खलङ्गा आएको तीन चार दिन भइसक्यो । “बैंकमा खाता खोल्नका लागि आवश्यक पर्ने कागजी प्रक्रिया पु¥याउन बढी समय लाग्ने भयो”, गोवद्र्धन महताले भने, “विकास निर्माणमा लगाउनुपर्ने बजेट गाँसबासमै जाने जस्तो छ ।” दुई जनालाई खाना बस्न र टिकट गर्दा ठूलो रकम खर्च यसैमा देखिने जस्तो छ । यी त प्रतिनिधिमूलक घटना मात्र हुन् । गाउँपालिकामा गत पुस अन्तिम साता माछापुच्छ्र्ररे बैंक खुलेको छ तर गाउँपालिकामा खुलेको बैंकमा कारोवार शुरु नहुँदा अहिले पनि स्थानीयवासीले हजारौँ रुपैयाँ खर्च गरी सदरमुकाम खलङ्गा आउनुपरेको वाध्यता छ ।

योजनाका लागि खाता खोल्न र कामका लागि पेश्की निकाल्न खलङ्गा आउँजाउँ गर्दा बजेटको आधा रकम त्यतिकै सकिने गरेको छ, स्थानीय राइसिंह धामीले भने । उस्तै ढिलो गरी गाउँमा बैंक आयो भने पेश्की निकाल्न तथा प्रमुख प्रशासकीय अधिकृत र लेखापाल गाउँपालिकामा नहुँदा अहिले पनि स्थानीयवासी खलङ्गा धाउन वाध्य छन् । यसैगरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयसिंह धामी पनि स्वास्थ्यको कारण देखाउँदै र त्यसमा पनि लेखापाल जिल्लामै हुँदा खलङ्गामै बस्ने गर्नुहुन्छ । गाउँपालिकामा गएर पनि काम छैन, लेखापाल यही भएपछि पेश्कीदेखि लिएर तलब भुक्तानीका लागि दस्तखत गर्न यही बस्नुको विकल्प नभएको उनको भनाइ छ ।

गाउँपालिकाको खाता यसअघि राष्ट्रिय वाणिज्य बैंकमा छ । वाणिज्य बैंकको खाता गाउँपालिकामा खुलेको माछापुच्छे«े बैंकमा परिवर्तन गर्नका लागि राष्ट्र बैंकले अनुमति दिनुपर्ने हुन्छ, गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले भने । गाउँपालिकाले गत पुस २३ गते नै राष्ट्र बैंकलाई पत्रचार गरेको थियो । केन्द्रीय बैंकबाट अनुमतिमा ढिलाइका कारण गाउँपालिकाको खाता परिवर्तनमा ढिलाइ भएको हो उनले भने । बैंकले स्थापना भएसँगै आर्थिक कारोवार शुरु गरिसकेको छ । गाउँपालिकाको खाता परिवर्तनमा ढिलाइ भएका कारण कतिपय उपभोक्ता समितिका पदाधिकारी सदरमुकाम खाता खोल्न गएको हुनसक्ने शाखा प्रबन्धक नवीन रोकायाले बताए। हामीले एक महीनाको अवधिमा झण्डै १०० खाता खोलिसकेका छाँै ।

नागरिकको वित्तीय संस्थासँग गाउँपालिकाबाटै सहज पहुँच पु¥याउने उद्देश्यका साथ हरेक स्थानीय तहमा बैंक स्थापना गरिए पनि सहजरुपमा कारोवार हुन नसकेको स्थानीयवासी बताउँछन् । गाउँपालिकामा बैंकबाट कारोवार भइदिएको भए खलङ्गा आउँजाउँ गर्नुपर्ने खर्च जोगिने उनीहरु बताउँछन् । लेकम गाउँपालिकामा स्थापना भएको लक्ष्मी बैंकबाट राजश्व बुझाउनेलगायतका केही आर्थिक सेवा प्राप्त नहँुदा अहिले जिल्ला सदरमुकाम आउनुको विकल्प नरहेको लेकम गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज उपाध्यायले बताउनुभयो । अधिकांश खाता यही सञ्चालन गरिएको छ उनले भने “तर राजश्वजस्ता केही खाता अझै परिवर्तन गर्न नसकिँदा स्थानीय सरकारले सदरमुकाम पुग्नुपरेको छ ।”

दुई नगरपालिका र सात वटा गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहमा बैंक पुगिसकेका छन् तर ग्रामीण क्षेत्रमा अहिले पनि बैंकले इन्टरनेट, विद्युत्लगायत सञ्चारको समस्या भोग्नुपरेको छ ।

Advertisement

Advertisement

Advertisement