विल्कुलै फरक खालका ‘प्रोडक्ट’हरु लिएर आयो महालक्ष्मी

mahalaxmi-life-insurance

काठमाडौं । नेपालको सबैभन्दा कान्छो बीमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले दुई विल्कुलै फरक खालका प्रोडक्टसहित आइतबार (माघ २७)बाट आफ्नो औपचारिक कारोबार सञ्चालनको तयारी गरेको छ ।

कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी ‘महालक्ष्मी डबल सावधिक बीमा’, ‘लगानी फिर्ता म्यादी बीमा’ र ‘महालक्ष्मी सावधिक बीमा’ गरी तीन वटा प्रोडक्टहरु सार्वजनिक गरेको छ । यी मध्ये अघिल्ला दुई उत्पादनहरु नेपालका लागि बिल्कुलै नयाँ र अन्य कम्पनीहरुको भन्दा फरक प्रोडक्ट भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रमेश भट्टराईले बताए ।

united

यी प्रोडक्टहरु बीमा समितिबाट स्वीकृति लिई सञ्चालनमा ल्याइएको जनाइएको छ । डबल सावधिक बीमा योजनामा बोनसको गणना गर्नै नपर्ने गरी तोकिएको अवधि समाप्त भएपछि बीमाङ्कको दोब्बर रकम भुक्तानीको ग्यारेन्टी गरिएको छ ।

त्यस्तै, लगानी फिर्ता म्यादी बीमा योजनामा बीमा शुल्क भुक्तानीपछि तोकिएको अवधिमा कुनै घट्ना भएमा एकमुष्ट बीमांक रकम भुक्तानी पाउन सकिने छ । घट्ना नभएमा अवधि समाप्तपछि जम्मा गरेको बीमा शुल्क जस्ताको तस्तै फिर्ता भुक्तानी गरिने सिइओ भट्टराईले बताए ।

तेस्रो महालक्ष्मी सावधिक योजनाअन्तर्गत न्यूनतम् बीमा शुल्कमा सुरक्षा पनि पाइने र कम्पनीको नाफामा समेत सरिक हुन पाइने छ । महालक्ष्मीले माघभित्र काठमाडौं, वीरगञ्ज, पोखराबाट कारोबार गर्न लागेको र इटहरि, सुर्खेत, सुर्खेत, धनगढी र कोहलपुरबाट फागुन दोस्रो साताभित्र कारोबार सञ्चालनको तयारी गरेको छ ।

सिइओ भट्टराईले सातै प्रदेशमा एकैपटक कार्यालयहरु सञ्चालनको तयारी भइरहेको बताए । कम्पनीले बीमा समितिबाट १३ वटा शाखाको स्वीकृति लिएको जनाएको छ । साथै, २०७६ को असारभित्र मध्ये पहाडी क्षेत्रका १२ वटा र काठमाडौंभित्र थप १० गरी कुल ३५ वटा सञ्चालनको तयारी भइरहेको भट्टराईले जानकारी दिए ।

दुई अर्ब रुपियाँ चुक्ता पुँजी रहेको महालक्ष्मीमा संस्थापकहरुबाट एक अर्ब ४० करोड चुक्ता भइसकेको र सर्वसाधारणका लागि ६० करोड रुपियाँ छुट्टाइएको छ । मनोरञ्जनरमण शर्मा अध्यक्ष रहेको कम्पनीको सञ्चालक समितिमा नेपाल उद्योग बाण्ज्यि महासंघका उपाध्यक्षसमेत रहेका उमेशलाल श्रेष्ठ, मोहनराज शर्मा, सुरेश देवकोटा सदस्य छन् ।

कम्पनीले आउँदो असारसम्ममा ५० करोड बीमाशुल्क संकलनको योजना बनाएको छ । कम्पनी सञ्चालनको दुई बर्षभित्र १० वटा बीमा कम्पनीमध्ये पहिलो हुने र पाँच बर्षभित्रमा सम्पूर्ण बीमा कम्पनीहरुमा उत्कृष्ट हुने योजना रहेको सिइओ भट्टराईले बताए ।

उनले आफूसँग दुई वटा कम्पनी सफलतापूर्वक सञ्चालन गरेको अनुभव रहेको र दक्षम कर्मचारी टिम रहेको भन्दै सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरे । भट्टराईले खर्च कम गर्नुका साथै नाफा कम राखेर सेवाग्राहीहरुलाई सुविधा दिइने बताउँदै आफूहरुले प्रस्तुत गरेको उत्पादनहरुप्रति जनताको आकर्षण रहने आशा व्यक्त गरे ।