म्यानको अधिवेशन माघ २९ मा, पूर्वाधार विकासबारे छलफलदेखि अवार्ड वितरणसम्मको कार्यक्रम

Advertisement

काठमाडौं । नेपाल व्यवस्थापन संघ (म्यान)को ३८औं राष्ट्रिय व्यवस्थापन अधिवेशन माघ २९ गते आयोजना हुने भएको छ । अधिवेशनको पहिलो चरणमा विजनेश सेसन रहेको र यस सेसनमा पूर्वाधार विकासको व्यवस्थापन र यसमा लगानीको विषयमा कार्यपत्र प्रस्तुत भई छलफल हुने म्यानले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

कार्यपत्र आधारभूत विशेषज्ञहरु कमलराज पाण्डे, सरोज प्रधान र ज्योतिप्रसाद लोहनीले प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ । साथै, सोही अवसरमा सन् २०१८ को व्यवस्थापन विकास सिंहावलोकनमाथि छलफल हुने र यस विषयको अनुसन्धानात्मक अध्ययन डा. चन्द्रप्रसाद रिजालले प्रस्तुत गर्ने म्यानका पदाधिकारीले जानकारी दिए । विजनेश सेसनमा अर्थमन्त्री युवराज खतिवडा पनि सहभागी हुने जनाइएको छ ।

अधिवेशनको दोस्रो चरणमा संघको वार्षिक साधारणसभाको कार्यक्रम रहेको जनाउँदै म्यानका अध्यक्ष प्रदीप पौडेलले बताए । अधिवेशनको तेस्रो चरणमा प्रधानमन्त्री केपी ओलीबाट अवार्ड वितरण गरिने उनले बताए । विगतमा जस्तै यस बर्ष पनि एक जना उत्कृष्ट व्यवस्थापकलाई यस वर्षको म्यानेजर अफ द एयर अवार्ड २०१८ प्रदान गरिने छ । त्यसबाहेक एक जना महिलालाई आउट स्याण्डिङ म्यानेजमेन्ट अवार्ड प्रदान गरिने जनाइएको छ ।

म्यानका महासचिव मोहन ओझाले यस बर्ष सरकारको सेवामा रहेर महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट श्रेणीका कर्मचारीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको बताए । त्यसैगरी क्षेत्रगतरुपमा योगदान पुर्याउने व्यक्तिहरुलाई पनि उनिहरुको योगदानको कदरस्वरुप सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए ।

यस संस्थामा व्यवस्थापक, प्रशासक, उद्योगी, व्यवसायी एवं विभिन्न क्षेत्रका पेशाविद्हरुको संलग्नता रहेको छ । म्यानले तालिम, अध्ययन, अनुसन्धान, पूर्वबजेट छलफल, पोष्ट बजेट छलफल, मौद्रिक नीति सम्बन्धमा छलफल कार्यक्रमहरु गर्नुका साथै हरेक बर्ष उत्कृष्ट व्यवस्थापक छनोट गरी सम्मान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement