मेडिसिटीले पूर्वअर्थमन्त्री अधिकारीको उपचारमा घोर लापर्वाही गरेको नेकपाको आरोप

Advertisement

काठमाडौं । सत्तारुढ नेकपाका एक नेताले सोही पार्टीका नेता एवं पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको उपचारमा मेडिसिटी हस्पिटलले घोर लापर्वाही गरेको आरोप लगाएका छन् ।

अधिकारीको स्वास्थ्य थप संकटमा परेपछि उनलाई अहिले मेडिसिटीबाट ह्याम्स हस्पिटलमा भर्ना गरिएको छ । मेडिसिटी नेपालको सबैभन्दा सुविधासम्पन्न हस्पिटल मानिन्छ । गैरआवासीय नेपाली संघका संस्थापक उपेन्द्र महतोको लगानी रहेको यस अस्पतालप्रति नेकपाका नेता सूर्य थापाले नेता अधिकारीको उपचारमा घोर लार्पवाही गरेको आरोप लगाएका हुन् ।

सामाजिक सञ्जालमार्फत असन्तुष्टि जनाउँदै थापाले भन्छन्, ‘बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँ (नेता अधिकारी)को उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ । फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।’

सानेपाबाट नजिक भएकाले नेता अधिकारीलाई मेडिसिटी अस्पताल भर्ना गरिएको र केही दिनपछि डिस्चार्ज गरिएको जनाउँदै उनले पुनः श्वासप्रश्वासलगायत समस्या देखिएपछि मेडिसिटीमै भर्ना गरिएको उल्लेख गर्दै उनले एक महिना उपचार गर्दा समेत २० को १९ नभएपछि नेता अधिकारीलाई ह्याम्स अस्पतालमा सारिएको जनाएका छन् ।

अहिले अधिकारीको उपचारमा डा. भगवान कोइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्कीलगायतका चिकित्सकहरु लागेको थापाले जानकारी दिएका छन् । ह्याम्पबाट उनी स्वास्थ्य लाभ गरेर फर्किने थापको विश्वास छ । ८२ वर्षीय वरिष्ठ नेताको उपचारबारे जनतालाई अद्यावधिक गर्नुपर्नेमा मेडिसिटीले परिवारजनलाई नै गुमराहमा राख्ने काम गरेको भन्दै नेता थापाले ‘खासमा यो अस्पताल कसको हो ? भरतमोहन अधिकारीको त यो हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनु परेको होला ? भन्दै प्रश्न गरेका छन् ।

Advertisement

Advertisement

Advertisement