ओली मन्त्रिमण्डल भ्रष्टहरुको क्लब जस्तो बन्योः गगन

Advertisement

गोरखा । काङ्ग्रेस युवा नेता गगन थापाले केपी ओली नेतृत्वको बर्तमान मन्त्रिमण्डल भ्रष्टहरुको क्लब जस्तो बनेको बताएका छन् । नेपाली काङ्ग्रेस गोरखाले आयोजना गरेको चौथो सुशील स्मृति दिवसको कार्यक्रममा थापाले मन्त्रिमण्डलहरुलाई भ्रष्टहरुको क्लबको संज्ञा दिएका हुन् । उनले प्रधानमन्त्रीको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्ट नै भ्रष्ट रहेको भन्दै मन्त्रिमण्डल नै भ्रष्टहरुको क्लव जस्तो भएको बताए ।

थापाले भने, ‘प्रधानमन्त्री बिहानदेखि बेलुकासम्म एउटा कुरा दोहोर्‍याएको दोहोर्‍यायै गरिरहनुहुन्छ म भ्रष्टाचारीको अनुहार हेर्दिनँ भनेर । तर उहाँको दायाँ, बायाँ, तल, माथि जताततै भ्रष्टहरु नै भ्रष्टहरु छन्। मन्त्रिमण्डल नै भ्रष्टहरुको क्लब जस्तो भएको छ ।’

भ्रष्टाचारमा कुनै मन्त्रालय चोखो नरहेको भन्दै उनले वाइडबडी विमान खरिददेखि बूढीगण्डकी जलविद्युत आयोजनासम्म भ्रष्टाचार रहेको बताए । नेता थापाले भ्रष्टचारीलाई प्रधानमन्त्रीले नै ढाकछोप समेत गरेको आरोप लगाउँदै भने, ‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने ? मैले भन्देको छु प्रधानमन्त्रीलाई अबदेखि तपाई‌ं ऐना नहेर्नोस् भनेर।’ उनका अनुसार भ्रष्टाचार व्यक्तिगत मात्रै नभई संस्थागत ढंगले भइरहेको छ ।

थापाले भने, ‘माफिया, दलाल, तस्करलाई संरक्षण दिँदै अहिलेसम्म नभएको ठूलो भ्रष्टाचार यो एकवर्षभित्र भएको छ । भ्रष्टाचारको दलदलमा देश टाट पल्टन लागिसक्यो तर प्रधानमन्त्री संसदमा आएर ढाँटेको ढाँटै गरिरहनुहुन्छ। एकपछि अर्को झुट। कति सहने नेपाली जनताले ?’

लगानीकर्तामाझ विश्वास गुमाएको बेलामा लगानी सम्मेलनको नौटंकी नगर्न पनि उनले सल्लाह दिए । यस्तो बेलामा धोक्रोमा पैसा बोकेर लगानी गर्न कोही पनि नआउने थापाको तर्क छ । यति शक्तिशाली हुँदा पनि प्रधानमन्त्रीले काम गर्न नसक्नु लज्जास्पद विषय भएको उनले बताए ।

थापाले भने, ‘अहिलेको प्रधानमन्त्री राणाभन्दा पनि शक्तिशाली प्रधानमन्त्री हो । तर दुईतिहाई बहुमतमा रहेर पनि काम गर्न नसकेको देख्दा यो वाम एकता होइन् लोभी र कायरहरुको मेल जस्तो लाग्न थालेको छ ।

नेता थापाले एमाले र माओवादी केन्द्रबीचको एकता आदर्श र सिद्धान्तका आधारमा भएको भनेर जति होहल्ला गरे पनि त्यस्तो एकता नभएर केपी वली जस्ता लोभी र प्रचण्डजस्ता कायरहरुको एकता मात्र हो भने ।

उनले भने, ‘स्थानीय निर्वाचनपछाडि केपी वलीलाई लाग्यो, मैले प्रचण्डसित तालमेल गरिनँ भने बहुमत ल्याउन केही सीप लाग्दैन। उता प्रचण्डलाई लाग्यो, मैले काङ्ग्रेस वा एमालेसँग तालमेल गरिनँ भने मेरै जमानत जफत हुनेवाला छ। त्यसैले प्रचण्डसित हात मिलाउँदा रगत लत्पतिन्छ भन्दै पन्छिने केपी र प्रचण्डको एकता भनेको लोभी र कायरको मेल हो। सिद्धान्त, आदर्श केही पनि होइन।’

Advertisement

Advertisement

Advertisement