लुम्बिनी विकास बैंकमा नक्कली नोटको आतंक

Advertisement

काठमाडौं । लुम्बिनी विकास बैंकमा दिन दिनै नक्कली नोट फेला पर्न थालेका छन् । बैंकको पोखरा शाखामा हप्तामै पाँच पटक एक हजारका नक्कली नोटहरु फेला परेका हुन् ।

बैंकको न्यूरोड शाखा पोखराका ब्रान्च म्यानेजर प्रकाशचन्द्र पहारीले सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली नोट भेटिएको बताए । उनी भन्छन्, ‘फरक फरक दिनमा बन्डलहरुको बीचमा एउटा एउटा गरेर नक्कली नोट फेला परेको हो ।’

यी नोटहरुको बीचमा टल्किने धागोमा राष्ट्र बैकको नाम (एनआरबी) लेखेको हुँदैन् । लालिगुराँसको चिह्न पनि नरहेको बैंकका कर्मचारीहरु बताउँछन् । नोटको बण्डलमा नक्कली नोटलाई राखेर राख्ने गरिएको पहारीले बताए ।

पछिल्लो समय पोखरामा नक्कली नोटको बिगबिगी बढेसँगै आफूहरु पनि यसबाट पीडित भएको बैंकका कर्मचारीहरुको तर्क छ । पहारीले नक्कली नोट दैनिकजसो आउन थालेपछि कर्मचारीलाई सजग रहन आग्रह गरिएको बताए ।

उनले नक्कली नोटको गिरोह पत्ता लगाउन प्रहरीसँग समन्वय गरेर बैंकदेखि सहकारीसम्म सूचना जारी गर्ने काम भइरहेको बताए । तर पहारीले कुन निक्षेपकर्ताबाट कसरी बैंकमा नक्कली नोट आइपुगेको हो ? त्यो भने खुलाएनन् ।

Advertisement

Advertisement

Advertisement