माडीका किसानलाई दूधमा प्रतिलिटर तीन रुपियाँ अनुदान

Advertisement

भरतपुर । माडी नगरपालिकाले दूधमा अनुदान वृद्धि गरेसँगै चितवनको माडीमा व्यावसायिक पशुपालन फष्टाउँदै गएको छ । नगरपालिकाले व्यावसायिक पशुपालन गर्ने किसानलाई प्रतिलिटर दूधमा तीन रुपियाँ अनुदान दिन थालेको छ । अनुदान दिन थालेपछि व्यावसायिक रुपमा पशुपालन गर्ने किसानको सङ्ख्या बढेको छ ।

उत्पादनका आधारमा अनुदानको कार्यक्रम शुरु गरेपछि व्यावसायिक रुपमा पशुपालन गर्नेको सङ्ख्या ह्वात्तै बढेको माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बताए । माडीस्थित दुग्ध विकास संस्थानका दुई चिस्यान केन्द्रको तथ्याङ्कका अनुसार किसानलाई अनुदान प्रदान गर्न थालिएको हो । दूध उत्पादनका आधारमा ६ महीनामा  १९ लाख रुपियाँ  अनुदान वितरण गरिएको उनले बताए।

“किसानले एक लाख रुपियाँसम्म अनुदान प्राप्त गरेका छन्”, ढकालले भने । नगरपालिकाले किसानको आर्थिक अवस्था सुधार गर्न दूध उत्पादनमा विशेष जोड दिँदै आएको छ । यस वर्ष नगरपालिकाले बाख्राको खोर सुधार, बोयर बाख्रा खरीद र बङ्गुरको खोर सुधारका लागि पनि अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । व्यावसायिक पशुपालनलाई दिगो बनाउन नगरपालिकाले यस वर्ष ३०० बिघा जग्गा भाडामा दिएर घाँसखेती समेत शुरु गरेको नगरप्रमुख ढकालले बताए।

गत आवमा माडीमा पशुपालनका लागि झण्डै ५६ लाख रुपियाँ अनुदान प्रदान गरिएको थियो । सो अनुदान गाईभैँसीको गोठ सुधार, बाख्राको खोर सुधार, बङ्गुरको खोर सुधार, घाँसखेती, पशुको कृतिम गर्भाधान लगायतमा प्रदान गरिएको छ । यस वर्ष नगरपालिकाले पशुपालनको क्षेत्रमा दुई करोड २८ लाख रुपियाँ विनियोजन गरेको छ । सशर्त अनुदानतर्फ आठ लाख २० हजार रुपियाँ र नगरपालिकाको तर्फबाट दुई करोड १८ लाख रुपियाँ विनियोजन गरिएको माडी नगरपालिकाका पशुपक्षी शाखा प्रमुख गोपाल अधिकारीले जानकारी दिए ।

“न्यून आयस्तर हुनेका लागि नगरपालिकाले ‘एकभाइ एक गाई’ कार्यक्रम सञ्चालन गरेको छ”, उनले भने।” गोठ निर्माणका लागि तीन हजार ५०० रुपियाँसम्म र गाई किन्न ४० हजार रुपियाँ अनुदान दिइने अधिकारीले बताए । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज माडीका अध्यक्ष सूर्यप्रसाद भुसालले माडीका किसानको सोचमा परिवर्तन आएको बताए । उनले नगरपालिकाको अनुदान र सहज बजारीकरणका कारण पशुपालनमा किसानको आकर्षण बढेको बताए ।

माडीमा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । गत वर्ष माडीमा डिडिसीले दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध सङ्कलन गर्ने गरेको थियो । यस वर्ष दैनिक पाँच हजार लिटर दूध सङ्कलन गरिरहेको छ । एक वर्षको अवधिमा दैनिक एक हजार लिटर दूध उत्पादनमा वृद्धि भएको नगरपालिकाले जनाएको छ । माडीमा करीब २०० व्यावसायीक पशुपालक किसान रहेका छन् ।

Advertisement

Advertisement

Advertisement