आतंककारीले अरुण तेस्रोमा बम पड्काएर लगानी सम्मेलन भाँड्न खोजे

Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आतंककारीहरुले अरुण तेस्रो जलविद्युत आयोजनामा बम पड्काएर सरकारले गर्न लागेको लगानी सम्मेलन भाँड्न खोजिएको आरोप लगाएका छन् । उनले बम पड्काउनेहरु आतंककारी भएको पनि बताए ।

प्रजातन्त्र दिवस मूल समारोह समितिको सोमबार बसेको बैठकमा ओलीले अरुण तेस्रोमा बम पड्काइएकोमा कडा आपत्ति जनाउँदै उनीहरुको योजना लगानी सम्मेलन भाँड्ने रहेको बताएका हुन् । देशमा फेरि द्वन्द्व उद्योग चलाएर खोजिएको ओलीको तर्क छ ।

उनले भने , ‘केही दिनअघि मात्रै अरुण तेस्रो परियोजनाको कार्यालय र निर्माणमा प्रयोग गरिएका मेसिनमा आक्रमण भएको छ । त्यहाँ एउटा आयोजनाको मेसिन र कार्यालय तोडफोड गरिएको मात्रै होइन, नेपालको विकासलाई रोक्ने खेल पनि भएको हो ।’

प्रधानमन्त्री ओलीले विकास आयोजनामा अवरोध गर्ने काम जनविरोधी र राज्यविरोधी हो भन्दै नेपालमा विद्युतीकरण हुनुहुँदैन, ऊर्जा उत्पादन हुनुहँदैन, देश विकास हुनुहुँदैन भन्नेले यस्तो गरेको आरोप लगाए । नेपाललाई अन्धकार युगमा राख्ने नियतका साथ गरिएको यस अपराधिक कृयाकलाप सैह्य नभएको बताए ।

आन्दोलनरत नेत्रविक्रम चन्द नेतृत्वको माओवादीतर्फ लक्षित गर्दै ओलीले चन्दाका नाममा देशमा लुटतन्त्र मच्चाउनेहरु सक्रिय रहेको बताए । उनले भने, ‘देशको विकासमा अवरोध गर्ने खालका प्रवृत्ति अहिले पनि प्रकट भएका छन् । तर हामी ती कुरामा गम्भीर छौँ, देश विकासका बाधाहरु पन्छाउँदै अघि बढ्दैछौँ ।’

Advertisement

Advertisement

Advertisement