नेपालका सरकारी कर्मचारीलाई भारतीय दूतावासको नियमित तालिम !

Advertisement

काठमाडौं । कर्मचारी प्रशासन र सुरक्षा निकाय भनेका जुनसुकै मुलुकको लागि संवेदनशील विषय हुन् । तर यस्तो संवेदनशीलतालाई बेवास्ता गर्दै नेपालको निजामती कर्मचारीहरुले भने भकाभक भारतीय दूतावासको तालिम लिन थालेका छन् ।

भारतीय दूतावासले गत माघ १० गतेबाट नेपालका सरकारी कर्मचारीहरुलाई लगेर तालिम दिन थालेको हो । त्यस समयमा २० जना कर्मचारी गएर भारतीय दूतावासको तालिम लिएर आएका थिए । अहिले अर्को २० जनाको टोलीले तालिम लिएको छ । दुई दिने तालिम सोमबार सकिएको छ ।

भारतको विदेश मन्त्रालय मातहतको ‘इन्स्टिच्यूट अफ गभर्मेन्ट अकाउन्ट्स एण्ड फाईनान्स’मा सञ्चालन हुने गरेको यस्ता तालिम ‘विश्व परिपेच्क्षमा सार्वजनिक वित्त व्यवस्थापन’ विषय हुने गरेको छ । यो तालिम ‘भारतीय प्राविधिक तथा आर्थिक सहकार्य कार्यक्रम’अन्तर्गत सञ्चालन भइरहेको भारतीय दूतावासले जनाएको छ । दूतावासले नेपालका अरु कर्मचारीलाई पनि यो तालिम दिन बाँकी रहेको जनाएको छ ।

भारतीय दूतावासले आफूहरुले नभई नेपालको अर्थ मन्त्रालयको अनुरोध र प्रस्तावमा कर्मचारीहरुलाई तालिम दिन थालेको बताएको छ । यस तालिमले विद्युतीय भुक्तानी प्रणाली, लेखाविधि तथा रकम व्यवस्थापन, सार्वजनिक ऋण प्रणाली, वैदेशिक ऋण तथा अनुदान तथा प्रतिदानको लेखाविधि, पेन्सन भुक्तानी प्रणाली, आन्तरिक लेखापरिक्षण, आर्थिक जिम्मेवारी तथा बजेट व्यवस्थापन आदि विषयहरुमा चलिरहेको विश्वव्यापी अभ्यासबारे कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सञ्चालन गरिएको जनाइए पनि यसबाट आन्तरिक मामलामा पर्ने असरप्रति अर्थ मन्त्रालय त्यति संवेदशील भएको देखिएन् ।

यस विषयमा कुरा गर्न मन्त्रालयका प्रवक्ता सुमन दाहाललाई फोन गर्न आफू सशस्त्र प्रहरीको कार्यक्रममा व्यस्त रहेको बताए । नेपालका सरकारी कर्मचारीलाई यसरी तालिम दिने संस्था भारतको बैंग्लोरमा रहेको छ । दूतावासले यस्तो तालिम आफूहरुले नेपालका कर्मचारीलाई मात्रै नभएर अरु विकासशील मुलुकलाई पनि दिने गरेको जनाएको छ । कर्मचारीहरुलाई तालिम दिने नेपालमै प्रशिक्षण प्रतिष्ठानदेखि अन्य तालिम केन्द्रहरु रहनुका साथै दक्ष प्रशिक्षकहरुसमेत रहेका छन् । साथै, सरकारले उनीहरुको दक्षता बढाउन भन्दै हरेक बर्ष ठूलो बजेटसमेत विनियोजन गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement