सिक्टाका तत्कालिन प्रमुख एक करोड १० लाख धरौटी बुझाएर छुटे

Advertisement

काठमाडौं । सिक्टा सिँचाइको नहर निर्माणमा भ्रष्टाचार आरोपमा मुछिएका तत्कालीन आयोजना प्रमुख दिलीपबहादुर कार्कीसँग विशेष अदालतले एक करोड १० लाख रुपैयाँ धरौटी माग गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्कीसहित राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माणसँग जोडिएका २१ जनाविरुद्ध दुई महिनाअघि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।सिक्टाको मूल नहर निर्माणमा ठेकेदार कम्पनी सिटिसिई कालिका र आयोजना निर्माणमा जुटेका कर्मचारीले आठ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले मागेको धरौटीबापत एक करोड १० लाख रूपैयाँबराबरको बैंक ग्यारेन्टी बुझाएर कार्की थुनामुक्त भएका छन्।

कार्कीले मूल नहर निर्माणका क्रममा एक अर्ब ५६ करोड ८२ लाख ८३ हजार एक सय ९९ रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ। यसै प्रकरणमा यसअघि कतिपय अभियुक्तलाई विशेष अदालतले धरौटीमा छाडेको छ भने कतिपयको थुनछेक बहस जारी छ। मूल नहर निर्माण गर्ने जिम्मा पाएको सिटिसिई कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डेलाई चार करोड रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्ने आदेश केही दिनअघि विशेष अदालतले दिएको थियो।

सिटिसिई कालिकाले सिक्टाको पश्चिम खण्डको ४५ मध्ये ४२ किलोमिटर मूल नहर निर्माण गरेको हो। यो नहर परीक्षणका क्रममा पटकपटक भत्कने गरेको छ। राप्ती नदीको ५० क्युमेक्स पानी अटाउने गरी बनाइएको मूल नहरमा चारपाँच क्युमेक्स पानी पठाउँदा नै भत्कने क्रम नरोकिएपछि आर्थिक अनियमितताको आशंका गरिएको थियो। मूल नहर निर्माणमा अनियमितता भएको देखिएपछि नागरिक दैनिकले निरन्तर खोजमूलक समाचार सम्प्रेषण गर्दै आइरहेको छ।

पछिल्लोपटक गत साउन ७ गते परीक्षणका क्रममा ढकेरीस्थित चंगाई नालाको मूल नहर भत्केको थियो। किसानको खेतमा पानी नपुग्दै पटकपटक मूल नहर नै भत्किएपछि गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरिएको र गुणस्तरहीन काम भएको अख्तियारको ठहर छ। अख्तियारले पूर्व आयोजना प्रमुखहरूसहित बहालवाला सिँचाइ विभागका महानिर्देशक सरोज पण्डित र बहालवाला आयोजना प्रमुख रमेश बस्नेतविरुद्ध मुद्दा दर्ता गरेको छ। अन्य आरोपितमा आयोजनामा काम गरेका १६ जना कर्मचारी, ५ जना ठेकेदार÷प्रतिनिधि र परामर्शदाता छन्।

आर्थिक वर्ष २०६१÷६२ देखि निर्माण कार्य सुरु भएको सिक्टामा हेडवक्र्स र मूल नहरको निर्माणमा १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। उक्त आयोजना अबको दुई वर्षमा सम्पन्न हुने सरकारको लक्ष्य भए पनि भौतिक प्रगति भने ५६ प्रतिशतमात्र छ।
नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement