साना उद्योगीका उत्पादनको 'मार्केटिङ'मा सघाउछौं: राजदूतहरु

Advertisement

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्ने विभिन्न देशका नव नियुक्त राजदूतहरुले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तराष्ट्रिय मार्केटिङमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन् । स्थानीय स्तरमा उत्पादित वस्तुहरुलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्घन गर्ने उनीहरुले बताए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त राजदूतरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको बजारीकरणमा सघाउने बताए ।

नेपालको प्रतिनिधित्व गर्दै भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य, मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डे, संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाल, थाइल्याण्डका लागि नेपाली राजदूत गणेश प्रसाद ढकाल, यु. एन. जेनेभाका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई, फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारी, कुवेतका लागि नेपाली राजदूत दुर्गा प्रसाद भण्डारी, क्यानडाका लागि लागि नेपाली राजदूत भृगु ढुंगानाले समृद्घ नेपाल र सुखी नेपाली अभियानलाई सफल बनाउन मुलुकमा साना उद्योगहरुको योगदानलाई बिर्सन नहुने बताए ।

महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले सरकारको ‘सुखी नेपाली – समृद्ध नेपाल’ को अभियानलाई साकार पार्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा जोड दिए । यस्ता उत्पादनहरुको निर्यात प्रवद्र्धनका लागि राजदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा उनले व्यक्त गरे ।

कुल गार्हस्थ उत्पादनमा औद्योगिक क्षेत्रको योगदान मध्ये ९० प्रतिशत हिस्सा साना उद्योगहरुको रहेको जानकारी दिंदै कूल औद्योगिक रोजगारीको ७५ प्रतिशत रोजगारी र कूल औद्योगिक निर्यातको ८० प्रतिशत निर्यात यसै क्षेत्रबाट भएको बताए ।

घरेलु तथा साना उद्योग विभागको आर्थिक वर्ष २०७३/७४ को औद्योगिक तथ्याङ्क अनुसार मुलुकभर कुल तीन लाख ८६ हजार पाँच १२ घरेलु तथा साना उद्योग दर्ता भएर नविकरण भई हाल चालु रहेका उद्योग दुई लाख ६४ हजार ८६ रहेको बताउँदै उनले भने – ‘ती उद्योगहरुमा प्रस्तावित कुल पूँजी लगानी ३५ हजार तीन सय १२ करोड लगानी भएको र २४ लाख ६६ हजार नौं सय ९२ जना रोजगारी श्रृजना हुनेछ । यसका अलावा विभिन्न समयमा भएका अनौपचारिक अध्ययन र प्रक्षेपणहरुले विना दर्ता ६ लाख भन्दा बढि लघु उद्यम व्यवसायहरु मुलुकका विभिन्न भागमा छरिएर सञ्चालनमा रहेको अनुमान गरिन्छ ।’

राजदुताबास र अन्तरगतका निकायहरुमा लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको डिस्प्ले सेन्टरको आवश्यक व्यवस्था गराउनुका साथै नेपाली वस्तु तथा सेवाहरुको अधिकतम उपयोग एवं उपभोग गराउन पनि अध्यक्ष सिंहको आग्रह थियो ।

Advertisement

Advertisement

Advertisement