‘पूर्व–पश्चिम यात्रामा जाँदा डोजरले धुलो उँडाएर खनिरहेको देखें, विकास युद्धस्तरमा भइरहेको छ’

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता केशब बडालले जनताको घरदैलोमा परिवर्तन नदेखिए पनि विकास निर्माणका कामहरु धमाधम भइरहेको जिकिर गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबमा उनले भने, ‘म यो बीचमा पूर्व–पश्चिम यात्रामा निक्किएको थिएँ । मैले धुलो उडिरहेको देखें । डोजर चलिरहेको देखें । अब त बल्ल विकास भयो भन्ने मलाई लागेको छ ।’

बडालले अहिले युद्धस्तरमा विकास निर्माणका काम भइरहेको भन्दै बाटाहरु धमाधम चार लेनबाट ६ लेन, ६ लेनबाट ८ लेनमा स्तरोन्नती भइरहेको जिकिर गरे । सरकारले यो एक वर्षमा धेरै महत्वपूर्ण कामहरु गरिरहेको पनि उनले दावी गरे । बडालले भने, ‘भारतसँग पिटिए भएको छ । यो हाईड्रो क्षेत्रको लागि महत्वपूर्ण उपलब्धि हो । थप हवाई रुट दिने सहमति भएको छ ।’

त्यस्तै नेता बडालले केरुङ–काठमाडौं रेलमार्गको डिपिआर पनि निर्माण भइसकेको, भारतबाट काठमाडौं रेल आउने, पूर्व–पश्चिम रेलमार्गको पनि काम भइरहेको लगायत विकास निर्माणका फेहरिस्त सुनाए ।

उनले यो एक वर्षमा सरकारले विकासको जग हालेको पनि दाबी गरे । उनले सरकारले केही काम नै गरेन र अर्थतन्त्र नै डामाडोल भयो भनेर लगाईएको आरोपमा भने कुनै सत्यता नभएको भन्दै खण्डन गरे ।

Advertisement

Advertisement

Advertisement