एनएमबि फेरि पनि विदेशी ऋण भित्राउन सफल, बेलायतको सिडिएसले डेढ करोड डलर दिने

Advertisement

काठमाडौ । एनएमबि बैंकले विदेशी संस्था सिडिसि ग्रुपबाट अमेरिकी डलर एक करोड ५० लाखको कर्जा लिन सफल भएको छ । बुधबार बैंक र सिडिसि ग्रुपबीच यससम्वन्धमा सम्झौता भएको हो ।

सम्झौतापत्रमा सिडिसि गु्रपका प्रबन्धक हल्गर रोथनबस्च र बैंकका प्रमुख कार्यकारी अधिकृत  सुनिल केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे । सिडिसिसँग ऋण लिने एनएमबि पहिलो हो ।

सिडिसि ग्रुप बेलायत सरकारको पूर्ण स्वामित्वमा रहेको वित्तीय संस्था हो । यो संस्थाले सव–साहारा अफ्रिका तथा दक्षिण एसियाका देशहरुमा रोजगार सिर्जना गरी आर्थिक विकास गर्ने उद्देश्यले लगानी गर्दै आएको बैंकको भनाई छ ।

सिडिसिले एनएमबिको स्थलगत भ्रमणमार्फत बैंककोे योजना, क्षमताको समीक्षा गरी लगानीका लागि प्रतिवद्वता जनाएको प्रमुख कार्यकारी अधिकृत केसीले बताए । उनले नेपाल राष्ट्र बैंकबाट जारी बिदेशी लगानीसम्बन्धी नीतिगत व्यवस्थालाई उपयोग गरी देशमा फेरि पनि विदेशी लगानी भित्र्याउन सफल भएको बताए ।

यस लगानीले विगत लामो समयदेखि देखिदै आएको तरलता समस्या समाधानका लागि सहयोग पुग्नुका साथै पूर्वाधार विकास, कृषि, साना तथा मझौला, लघु कर्जा र विदेशी मुद्रा आर्जन हुने पर्यटन तथा जलविद्युत क्षेत्रमा लगानी गरी दिगो विकासमा सहयोग पुग्ने एनएमबिको भनाई छ ।

एनएमबि बैंकले सिडिसि ग्रुपसहित तीन वटा संस्थाहरुबाट यस प्रकारको कर्जा लागानी भित्र्याइसकेको छ । यस्तो कर्जा लगानी भित्र्याउने एनएमबि बैंक नेपालको पहिलो हो । प्रमुख कार्यकारी अधिकृत केसीले आफूहरु फरक ढंगले अघि बढ्न खोजेको भन्दै एनएमबिले अन्तर्राष्ट्रिय लगानीकर्ताको ध्यान आफूतिर बढाउँदै आगामी दिनमा नेपालको आर्थिकस्तर बढाउनको लागि योगदान दिएको बताए ।

 

बैंकका अध्यक्ष पवन गोल्याणले विदेशी संस्थाबाट ल्याइएको ऋण उत्पादनमूलक क्षेत्रमा सहुलियत कर्जा प्रवाह गर्ने बताए । उनले बैंकले अहिले २० प्रतिशतको हाराहारीमा नाफा गरेको, पुँजी वृद्धिसँगै नाफा पनि बढेको भन्दै नेपालमा सबैभन्दा राम्रो टे«जरी टीम एनएमबीमा रहेको बताए ।

Advertisement

Advertisement

Advertisement