ड्राइभिङ लाईसेन्सको नतिजा र स्मार्ट लाईसेन्स प्रिन्ट भएनभएको जानकारी अब एसएमएसबाट

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्रको लिखित परीक्षामा पास भए नभएको जानकारी एसएमएसबाटै लिन सकिने सेवाको सुरुवात गरेको छ । साथै, ट्रायल पास भएर वा नवीकरण गर्न दिएर स्मार्ट लाइसेन्सको पर्खाइमा रहेका आवेदकले आफ्नो लाइसेन्स प्रिन्ट भएनभएको थाहा पाउन पनि अब विभागमा पटक–पटक जानु नपर्ने भएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावन्य कुमार ढकाल र स्पेरो एसएमएसका प्रबन्ध निर्देशक अरविन्द साहले विभागको प्रधान कार्यालय, मिनभवनमा आयोजित एक कार्यक्रम बीच संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् ।

सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको नतिजा थाहा पाउन अंग्रेजी अक्षरको डब्लुटी लेखेर एउटा स्पेस छाडेर एप्लिकेन्ट आईडी टाइप गरेर ३३००१ मा एसएमएस गर्न सकिनेछ । एसएमएस पठाउनासाथ उतिर्ण वा फेल जे भएको छ त्यसको म्यासेज सम्बन्धित व्यक्तिले पाउने जानकारी विभागले दिएको छ ।

त्यसैगरी, आफ्नो स्मार्ट लाइसेन्स प्रिन्ट भए–नभएको थाहा पाउनका लागि एलसी टाइप गरी एक स्पेश दिएर एप्लिकेन्ट आईडी टाइप गरी ३३००१ मा एसएमएस गर्न सकिनेछ । त्यसपछि लाईसेन्स प्रिन्ट भएको वा नभएको तत्काल खबर आउनेछ ।

उक्त प्रणालीको सुरुवात गर्दै महानिर्देशक ढकालले एसएमएस मार्फत सवारी चालक अनुमतिपत्रको लिखित परीक्षाको परिणाम कुर्दै गरेका र स्मार्ट ड्राइभिङ लाईसेन्स कुर्दै गरेका सेवाग्राहीलाई अब सूचना प्राप्त गर्न सहज हुने अपेक्षा व्यक्त गरे ।

नेपालमा चार वर्ष पहिले कागजी लाइसेन्स हटाएर ‘स्मार्ट’ चालक अनुमतिपत्रको वितरण थालिएको थियो । यसमा देखिनेगरी चालकसँग सम्बन्धित फोटोसहितका विवरणहरु राखिएका हुन्छन् । यसबाहेक यसमा सीमकार्डमा जस्तै धातुको चिप जडान गरिएको हुन्छ जसमा चालक र सवारीसँग सम्बन्धित डाटाहरु स्टोर गरिन्छ । त्यहाँका डाटालाई विभाग र प्रहरीले साझेदारी गरेर हेर्न सक्छन् । कुनै सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा परेमा त्यसैमा कारवाही भएको रकेर्ड राखिने जानकारी बिभागले दिएको छ ।

आधुनिक प्रविधि र उत्कृष्ट गुणस्तरको लाइसेन्स नक्कली छाप्न नमिल्ने, आगोले नड्ढने, अक्षर नमेटिने, सेवाग्राहीमैत्री र ई– गभर्नेन्स लागू गर्न सहयोगी हुने यातायात व्यवस्था विभागको विश्वास छ ।

Advertisement

Advertisement

Advertisement