राज्य ६३ अर्ब ६८ करोड घाटामा, विदेशी मुद्राको संचिति पनि घट्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो छ महिनाको स्थितिअनुसार मुलुक ६३ अर्ब ६८ करोडले घाटामा रहेको छ । बढ्दो व्यापार घाटा, घट्दो निर्यात, बिप्रेषण आयमा वृद्धि नहुनु, अमेरिकी डलरको भाउ उच्च रहनु जस्ता कारणले मुलुकको शोधनान्तर स्थिति उच्च रहन गएको छ ।

गत बर्षको सोही अवधिको तुलनामा शोधनान्तर स्थितिमा केही सुधार देखिए पनि घाटा रकमका हिसावले ६३ अर्ब ६८ करोड निकै उच्च हो । साथै चालु आर्थिक बर्षको पहिलो पाँच महिनाको तुलनामा पनि यो घाटा कम हो । पाँचौ महिनासम्म शोधनान्तर घाटा ८५ अर्ब ३२ करोड रुपियाँ थियो ।

शोधनान्तर घाटासँगै विदेशी विनिमय सञ्चितिमा चाप पर्न थालेपछि राष्ट्र बैंकले विदेश जाने नेपालीलाई विदेशी मुद्रा सटहीमा कडाई गरेको छ । पछिल्लो समयमा ठूलो व्यापार घाटा सहँदै आएको नेपालमा विदेशी लगानीमा पनि कमी र विदेशी ऋणको सोधभर्नामा पनि कमी भएपछि विदेशी मुद्रा संचितिमा चाप परेको हो ।

गत वर्षको पहिलो छ महिनामा १४ अर्ब ३३ करोड रुपियाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएकोमा यस वर्ष जम्मा चार अर्ब ३६ करोड रुपियाँ भित्रिएको छ । अमेरिकी डलर बढ्दा रेमिटान्सको वृद्धि सन्तोषजनक देखिए पनि डलरमा किन्नुपर्ने सामानहरुको भाउ महंगो हुँदा व्यापार घाटा बढेको छ ।

यस अवधिमा वस्तु व्यापारतर्फ नेपाललाई छ खर्ब ७९ अर्ब रुपियाँ घाटा छ । समीक्षा अवधिमा वस्तु आयात ३० दशमलव ५ प्रतिशतले बढेर कुल सात खर्ब २४ अर्ब रुपियाँ पुगेको छ भने निर्यात जम्मा १० प्रतिशतले बढेर ४५ अर्ब ४१ करोड रुपियाँ पुगेको छ ।

चालु आवको ६ महिना (साउन–पुस) मा विदेशी मुद्राको सञ्चिति छ दशमलव सात प्रतिशतले घटेर पुस मसान्तमा नौ अर्ब ४१ करोड अमेरिकी डलर सञ्चित रहन गएको छ । यो सञ्चितिबाट करिव नौ महिनाको वस्तु र आठ महिनाको वस्तु र सेवाको आयात धान्न सकिने राष्ट्र बैंकको भनाई छ ।

सकारात्मक पक्षको रुपमा पुसमा उपभोक्ता मुद्रास्फिति जम्मा चार दशमलव छ प्रतिशत मात्रै छ । अघिल्लो महिना मुद्रास्फिति तीन दशमलव सात प्रतिशत थियो ।

Advertisement

Advertisement

Advertisement