काश्मिरमा आतंकवादी हमला हुँदा ४० सुरक्षाकर्मीको मृत्यु, भारत-पाक तनाब बढ्ने अनुमान

Advertisement

नयाँदिल्ली । भारतको काश्मिरमा बिहीबार दिउसो भएको ठूलो आतंकवादी हमलामा ४० जना सुरक्षाकर्मीको मृत्यु भएको छ । जम्मुबाट श्रीनगर गइरहेको केन्द्रीय रिजर्भ पुलिस फोर्सको गाडीमा हमला हुँदा उनीहरुको मृत्यु भएको हो ।

करिब ७० वटा गाडीमा गइरहेका सुरक्षाकर्मीमाथि पुलवाला भन्ने स्थानमा पुगेको बेला आतंककारीहरुले हमला गरेका हुन् । जम्मु काश्मिर सरकारका सल्लाहकार विजयकुमारका अनुसार आक्रमणमा ४० जनाको मृत्यु र अरु धेरैजना घाइते भएका छन् । यी गाडीहरुमा दुई हजार ५४७ जना सीआरएफका जवान सवार थिए ।

हमलाको जिम्मेवारी पाकिस्तानमा आश्रय लिइएको भनिएको जैस ए मोहम्मदले लिएको छ । यो आक्रमणसँगै भारत र पाकिस्तानबीच सामान्य बन्न लागेको सम्वन्धमा तनाव सिर्जना हुने अनुमान गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विस्फोटक पदार्थले भरिएको गाडीमार्फत काश्मिरमा अहिलेसम्मकै ठूलो हमला भएको हो ।

यसभन्दा पहिले सन् २०११ अक्टोबरमा काश्मिर विधान सभा र जनवरी २००४ मा सुरक्षा बलको गाडीमाथि यस्तै हमला भएको थियो । त्यो बेला विधानसभाको हमलामा मात्रै ३८ जना मारिएका थिए । समाचार स्रोतका अनुसार जैस ए मोहम्मदका आदिल अहमद उर्फ वकास कमाण्डोले दिउँसो ३ बजेर १५ मिनेटमा यो हमला गरेका थिए ।

सीआरपीएफको गाडीको लस्कर लेथपोराबाट अगाडि बढेपछि पृथकतावादीहरूले विस्फोटकले भरिएको आफ्नो गाडी जवानले भरिएको बसमा ठोक्काएका थिए । करिब ३५० किलो भन्दा धेरै विस्फोटक पदार्थले भरिएको स्कोर्पियो सुरक्षाकर्मीको गाडीमा ठोक्काइएको थियो ।

सीआरएफका टोली जम्मुबाट बिहान ३ बजेर ३० मिनेटमा बाटो लागेका थिए । उनीहरू साँझ श्रीनगर पुग्ने योजनामा थिए । घटनापछि डाक्टर र बम विशेषज्ञको टोली घटनास्थलमा पुगेको थियो ।

Advertisement

Advertisement

Advertisement