खेलाडी र प्रशिक्षकलाई एक करोड ६५ लाख पुरस्कार दिने निर्णय

Advertisement

काठमाडौं । सरकारले ¬क्रिकेट, साग, फुटबल एवं वल्ड च्याम्पियनसिपमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक तथा अफिसियललाई पुरस्कारस्वरुप रु एक करोड ५६ लाख प्रदान गर्ने भएको छ ।

यही माघ २५ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले उनीहरुलाई पुरस्कृत गर्ने निर्णय भएका बताए । उनले सरकारले राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।

बास्कोटाले भने, “सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका, २०७५ र बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समिति (गठन) (पहिलो संशोधन) आदेश, २०७५ स्वीकृत गर्ने भएको छ”, लागुऔषध प्रयोगकर्ताका लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका, २०७५ र सेफगाड्स एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ विधेयक, २०७५ सङ्घीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

सरकारले नेपाल सरकार र संयुक्त राज्य अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) बीच सम्पन्न ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ अनुमोदनका लागि सङ्घीय संसद्मा पेश गर्ने, बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने र अध्यागमन नियमावली, २०५१ को अनुसूची ११ संशोधन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले नागरिकता (मायादेवी थापा क्षेत्री) सदर÷बदर सम्बन्धमा पुनःनिर्णय गर्न काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अनुमति दिएको छ ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा सुवास सिटौलालाई नियुक्ति गर्नुका साथै नेपाल दूरसञ्चार प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई प्राधिकरणकै कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ । सरकारले पाँच जना सहायकरथीलाई उपरथीमा पदोन्नति गरी पदस्थापन गर्ने तथा पाँच जना उपरथीलाई सरुवा गर्ने निर्णय पनि गरेको छ ।

Advertisement

Advertisement

Advertisement