अनुपलाई प्रधानमन्त्रीले नस्वीकारेपछि पदाधिकारी नियुक्तिका लागि नयाँ प्रक्रियामा जाने तयारी

Advertisement

काठमाडौं । विद्युत नियमन आयोगमा अनुपकुमार उपाध्यायलाई अध्यक्ष बनाउने उर्जामन्त्री बर्षमान पुनको योजना प्रधानमन्त्री केपी ओलीले नस्वीकारेपछि नयाँ प्रक्रियामा जाने तयारी गरिएको छ ।

उर्जासचिव हुँदा आफूले भनेका काम नगरेको र मागेका जवाफ पनि नदिएको भन्दै प्रधानमन्त्री ओली पहिलेदेखि उपाध्यायसँग सन्तुष्ट नभएको बेला पुनले उनलाई नै आयोगको अध्यक्ष बनाउन एकल नाम मन्त्रिपरिषदमा पुर्याएका थिए । अध्यक्षका कारण सदस्यहरुको सिफारिससमेत अस्वीकृत हुन पुगेको थियो ।

बैठकमा उपाध्यायलाई अध्यक्ष बनाउन प्रधानमन्त्री ओली नै सकारात्म्क हुन नसकेपछि प्रस्ताव अस्वीकृत भएको थियो । नियमन आयोगको अध्यक्ष बनाउन मन्त्री पुनले उनलाई सचिवबाट राजीनामा दिन सल्लाह दिएका थिए ।

तर सचिव हुँदा आयोगका पदाधिकारीको नियुक्तिको मागदण्ड बनाएका उपाध्याय आफै सोही पदका लागि दरखास्त दिएर छनोट प्रक्रियामा भाग लिएको भन्दै विरोध भइरहेको बेला मन्त्री पुनले पेलेरै उनको नाम सिफारिस गर्न छनोट समितिलाई निर्देशा दिएका थिए ।

आयोगको पदाधिकारीका लागि जसले मापदण्ड र प्रक्रिया बनायो, उसलाई आयोगको अध्यक्ष बनाउने मन्त्री पुनको योजना प्रधानमन्त्रीले नै अस्वीकार गरेपछि पुनलाई ठूलो झापड लागेको थियो । अहिले भने उनले आयोगका पदाधिकारी नियुक्तिका लागि नयाँ प्रक्रियामा जान सकिने बताएका छन् ।

उपाध्यायलाई नियमन आयोगको अध्यक्ष बनाउने प्रयास असफल हुँदा मन्त्री पुन नैतिक संकटमा परे पनि उनी राजीनामा दिने पक्षमा भने देखिएनन् । उनले बरु प्रधानमन्त्रीकै चाहनाअनुसार पुनः नियुक्तिको प्रक्रिया अघि बढाउने तयारीमा रहेको स्रोतको भनाई छ ।

स्रोत भन्छन्– यो केशमा मन्त्रीले ठूलो झापड खानुपरेको छ । योभन्दा ठूलो झापड अरु के हुनसक्छ र ? अरु त्यस्तै नैतिकवान खालको मान्छे भएको भए, राजीनामा दिएर हिंडिसक्थ्यो । तर पुनले त्यो नैतिकता देखाउन साहस गरेनन् । अरु प्रधानमन्त्रीकै इच्छाअनुसार नयाँ प्रक्रिया थाल्ने योजनामा देखिन्छन् ।

मन्त्रिपरिषदमा सिफारिस गर्दा तीन जनाको नाम पठाउनुपर्नेमा एक जनाको मात्रै पठाएर पनि ठूलो भुल गरेका मन्त्री पुनले अब नयाँ प्रक्रिया अपनाउँदा आफूले चाहेकै व्यक्तिलाई आयोगको अध्यक्ष एवं सदस्यहरु नियुक्त गर्न सक्छन् सक्दैनन् ? भन्नसक्ने स्थिति छैन् ।

आयोगको अध्यक्ष हुने लालसामा सचिवबाट राजीनामा दिएका उपाध्याय आफै पनि विद्युत नियमन आयोग जस्तो महत्वपूर्ण निकायको अध्यक्ष हुन क्षमता राख्छन् ? भन्ने विषयमा पनि प्रश्न उठ्ने गरेको छ । आयोगको अध्यक्ष बन्न उनको योग्यतामा पनि प्रश्न उठेको थियो । त्यसमाथि यसअघिको सिफारिस प्रक्रियामै वैधानिकताको प्रश्न उठेपछि दोहोर्याएर गरिने प्रक्रियामा उनलाई सिफारिस गर्न र नियुक्ति गर्न झन कठिनाई हुने देखिएको छ ।

यद्यपि पुन अझै पनि उपाध्यायलाई अध्यक्ष बनाउने अझै आश्वान दिइरहेको स्रोतको भनाई छ । उर्जामन्त्री पुनले यसअघि अध्यक्षमा उपाध्याय र सदस्यहरूमा रामप्रसाद धिताल, रामेश्वरप्रसाद कलवार, रामकृष्ण खतिवडा र भागिरथी ज्ञवालीको नाम सिफारिस गरेका थिए ।

आयोगको पदाधिकारीका लागि १७ जनाले प्रतिस्पर्धा गरेका थिए । अध्यक्षमा उपाध्यायबाहेक विद्युत महसुल निर्धारण आयोगका पूर्वअध्यक्ष जगतकुमार भुसाल, विद्युत विकास विभागका पूर्वमहानिर्देशक दिल्लीबहादुर सिंह र विज्ञ बालचन्द्र श्रेष्ठले आवेदन दिएका थिए । उनीहरु तीन जनाको नाम सिफारिस नगरेर उपाध्यायको नाम मात्रै सिफारिस गरेको भन्दै रुष्ट थिए ।

Advertisement

Advertisement

Advertisement