विकासका कुरामा सत्तापक्ष र विपक्ष एक हुन पाए हुन्थ्योः प्रचण्ड

Advertisement

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन् ।

शनिबार भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता वाकाथुन तथा राष्ट्रिय झण्डा झण्डोत्तोलन कार्यक्रममा प्रचण्डले सफाइ अभियानले नयाँ सभ्यताको विकास गरेको बताए ।

विकास र समृद्धिको अभियानमा सबै राजनीतिक दल, वर्ग, धर्म, लिङ्ग र समुदाय एकजुट भएको सन्देश हनुमन्ते सफाइ अभियानले दिएको बताउँदै उनले नयाँ नेपाल, समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियानमार्फत नयाँ सभ्यताको इतिहास रच्ने सुनौलो अवसर प्राप्त भएको छ भन्नुभयो । देश बनाउने जिम्मेवारी सबै नागरिकको भएकाले यसमा विभाजित हुन नहुने प्रचण्डको जोड थियो ।

नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले नदीको सफाइ अभियानले नागरिकलाई स्वच्छ र सुरक्षित जीवनयापन गर्न सहयोग पुगेको बताए । उनले वातावरणमा आएको ह्रास न्यूनीकरण गर्न सरसफाइ अभियानलाई अझ प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने बताए ।

नेकपाका नेता महेश बस्नेतले सरकारले लिएको विकास र समृद्धिको लक्ष्यलाई भक्तपुरका जनताले अभियानका रुपमा सञ्चालन गरिरहेको बताए । उनले ‘सफा सुन्दर हराभरा भक्तपुर, सुरक्षित भक्तपुर, उज्यालो भक्तपुर’ बनाउने उद्देश्यले आयोजना गरिएको हनुमन्ते सफाइ अभियान अहिले देशकै नमूना अभियानका रुपमा अगाडि बढेको बताए ।

अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले अरनिको राजमार्ग सफाइ अभियानदेखि सम्पदा, मठमन्दिर सफाइ अभियान, गाउँ टोल सफाइ अभियानसमेत सञ्चालन गर्दै आएको बताए ।

मध्यपुरथिमि नगरपालिकाको उपप्रमुख एवं अभियानका उपसंयोजक अञ्जनादेवी मधिकर्मी, अभियन्ता रुद्र पौडेलले अभियानले ल्याएको बताइन् ।

आज बिहान राष्ट्रिय धावक बैकुष्ठ मानन्धरको नेतृत्वमा मध्यपुर थिमिदेखि शुरु भएको वाकाथुन सल्लाघारी पुगेर समापन भएसँगै नेकपाका अध्यक्ष दाहाल र काङ्ग्रेसका नेता सिंहले सल्लाघारीमा गाडिएको नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । समारोहमा राष्ट्रिय धावक मानन्धरलाई सम्मान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement