निजी क्षेत्रको आग्रहपछि प्रधानमन्त्रीले ब्याजदर घटाउन अर्थमन्त्री र गर्भनरलाई निर्देशन दिए

Advertisement

काठमाडौं । निजी क्षेत्रको आग्रहपछि प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री युवराज खतिवडा र गभर्नर चिरञ्जीवी नेपाललाई ब्याजदर विवाद समाधान गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटरमा शनिबार नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँगको भेटपछि ओलीले व्यवसायीको मागअनुसार बैंकको ब्याजदरको समस्या सल्टाउन निर्देशन दिएका हुन् । उनले बैंकहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न ब्याजदरमा लचिलो हुन सल्लाह पनि दिए ।

प्रधानमन्त्री ओलीले बैंकहरुलाई मूख्य गरी उत्पादनमुलक, रोजगारीका अवसर सिर्जना गर्ने, आत्मनिर्भर र निर्यातजन्य उद्योगहरुमा लगानी गर्न सुझाव दिँदै सरकारले सबै क्षेत्रको एकाधिकार तोड्ने र खुला प्रतिष्पर्धाको वातावरण बनाउन लागिपरेको बेलामा ब्याजदरको विषयमा नै विवाद बढे लगानीको क्षेत्रमा र सरकारको नीतिमा असर पर्ने बताए ।

व्यवसायीहरुले ब्याजदर घटाउन लामो समयदेखि आग्रह गर्दै आएका छन् । पूर्व क्षेत्रका व्यवसायीहरुले भने बैंकहरुको चर्को ब्याजदरविरुद्ध संघर्ष नै गर्दै आएका छन् । निक्षेपमा ब्याज घटाइसकेका बैंकहरु कर्जाको ब्याज घटाउन भने आनाकानी गर्दै छन् ।

प्रधानमन्त्री ओलीको निर्देशनपछि अर्थमन्त्री खतिवडाले सोमबार राष्ट्र बैंक र व्यवसायीसँग यस विषयमा छलफलको तयारी गरेका छन् ।

Advertisement

Advertisement

Advertisement