सरकारका गलत कामकाजको विरोध गर्दा शर्माको लोकप्रिय गीत प्रतिबन्धित

Advertisement

काठमाडौं । लोकदोहोरी गायक पशुपति शर्माले गत फागुन २ गते युट्यूबमार्फत सार्वजनिक गरेको ‘लुटन सके लुट, नेपालमै हो छुट’ बोलको नयाँ गीत युट्यूबबाट हटाएका छन् ।

गीत सार्वजनिक भएको तीन दिनमै सरकारी पक्षले गरेको आलोचनाका कारण शर्माले आफ्नो च्यानलबाट लोकप्रिय उक्त गीत हटाउन बाध्य भएका हुन् । उनले गीतमा नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्याङ्ग्य गर्दै भिडियोसहितको गीत सार्वजनिक गरेका थिए ।

तीन दिनमै लाखौंले भ्यू गरेको शर्माको गीतमा विकासका कामहरु अधुरा अपुरा छोड्दै भाग्ने ठेकेदार, व्याप्त भ्रष्टाचार, सुन काण्ड, वाईडवडी काण्ड जस्ता कुराहरुलाई व्याङ्ग्त्मक ढंगले तीनको माध्यमबाट प्रस्तुत गरेका थिए । उनको गीतको स्वयम विभिन्न राजनीतिक दल, नागरिक समाज र आम स्रोता एवं दर्शकहरुले मन पराए पनि सत्ताधारी पक्षले मन पराउन नसकेपछि प्रतिवन्ध नै लगाइएको छ ।

सत्तापक्षका मानिसहरुको चर्को दबाब र चेतावनीपछि गायक शर्माले गीत यूट्युव र फेसबुकबाट हटाएका छन् । तर उनले आफूले दबाबका कारण गीत हटाएको भने आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छैनन् । शर्माले भनेका छन्, ‘म राजनीतिलाई त्यति गहिराईबाट बुझ्दिन । तर सुशासन कायम हुनुपर्छ र देशमा विसंगती ब्याप्त हुनु हुँदैन भन्ने कुरामा म सचेत छु । मेरो गीतले विसंगतीलाई व्याङ्रग्य गरोस भन्ने मेरो एकमात्र ध्येय थियो । मेरो नियत कसैको चित्त दुखाउने नभई केवल विसंगतीमाथि प्रहार गर्नु र विकृतीको उजागर गर्नु मात्र थियो यसमा म पुनः प्रष्ट पार्न चाहन्छु ।’

उनले अहिले डिजिटल प्लेटफर्म युट्युबमा रहेको गीतलाई परिमार्जन सहित पुनः लिएर आउने बाचा गर्दै अहिले बजिरहेको गीत युट्युबबाट हटाउने निर्णय गरेको जानकारी दिएका छन् । प्रतिवन्ध लगाइएको गीतमा शर्माले राष्ट्रपति विद्या भण्डारीलाई डेढ अर्ब रुपियाँभन्दा बढिको हेलिकप्टर किनिएको कुरादेखि स्वर्ग जस्तो देशमा यमराजको शासन जस्ता कुरा रहेबाट सरकारी पक्ष आक्रोसित भएको हो ।

यस गीतको विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएपछि उनलाई गीत सामाजिक सञ्जालबाट हटाउन बाध्य पारिएको हो । सत्तारुढ दलको चुनावी प्रचारमा सामेल हुँदै आएका अर्का गायक बद्री पँगेनीले लोकदोहोरी संघको अध्यक्षको नाताले शर्माको गीतको पक्षमा अडान नलिई उल्टै विरोध गर्न थालेपछि उनी अप्ठ्यारोमा परेका हुन् ।

यो गीतमा मात्रै नभएर शर्माका अन्य गीतमा पनि सामाजिक यथार्थ, देशमा हुने भ्रष्टाचार, हत्या, हिंसा र बलात्कार जस्ता विषयलाई निकै मार्मिक ढंगले गीतको माध्यमबाट प्रस्तुत गर्ने गर्दछन् । उनका धेरै गीतहरुमा जनचेतनामूलक र व्याङग्यात्मक झटारो हुन्छ ।

यस्तै विभिन्न खालका विवादले यसअघि उनको एउटा गीत ‘ के को बाहुन ? के को कामी ? के को जनजाती ? जातका कुरा गर्नेहरु देशका लागि घाती, हुन्न हुन्न हाम्रो घरमा त जातको कुरा हुन्न, मेरो छोराले कमिनि ल्यायो, मेरी छोरी नि दमैसित गई, मैले गुरुङसेनी ल्याएकै हो, हामी नेपाली हौं मलाई त्यत्ति थाहा छ’ लाई पनि युट्यूबबाट हटाइएको थियो ।

Advertisement

Advertisement

Advertisement