प्रधानमन्त्रीले नै तथ्यांक दिने निकायलाई मिथ्यांक दिन प्रेरित गरेः जोशी

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीले भ्रष्टाचार र बेथितीविरुद्ध लोक गायक पशुपति शर्माले गीत बाहिर ल्याउँदा सरकारले बन्द गराएको भन्दै आपत्ति जनाएका छन् ।

रिपोर्टर्स क्लबमा आइतबार उनले भने, ‘हामीलाई त अहिले पञ्चायतकालिन शासनजस्तो झझल्को लागेको छ । सरकारले नागरिक अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ ।’ जोशीले वर्तमान सरकार अनुदारवादी र अलोकतान्त्रिक बनेको पनि आरोप लगाए ।

उनले भने, ‘सरकारले भिसीलाई विमानस्थलबाट उठाएर ल्याई बालुवाटारमा किन राखियो ? मलाई प्रश्न सोध्न मन लागेको छ । अहिले सरकारले नागरिक स्वतन्त्रताको खिल्ली उडाएको छ ।’

सरकार अहिले लोकतान्त्रिक पद्धति र संविधान विपरित चलिरहेको पनि जोशीले आरोप लगाए । उनले भने, ‘भ्रष्टाचारको विरुद्धमा गीत लेख्दा गीत नै बन्द भयो । यो सरकारको गलत कदम हो ।’

प्रधानमन्त्री केपी ओलीले संसदको रोष्ट्रममा पेश गरेको तथ्यांक नै मिथ्यांक रहेको जोशीको आरोप छ । उनले भने, ‘तथ्यांकलाई प्ले गर्न सकिन्छ, तर प्रधानमन्त्रीले तथ्यांक नभईकन मिथ्यांक पेश गर्नुभयो । उहाँले तथ्यांक दिने निकायहरुलाई मिथ्यांक दिन प्रेरित गर्नुभएको होला ।’ उनले वर्तमान सरकार राजनीतिक रुपमा अनुदार भएको टिप्पणी गरे ।

जोशीले देशको सबै आर्थिक सुचांकहरु नकारात्मक रहेको दृष्टान्त पेश गरे । उनले भने, ‘अहिले व्यापार घाटा बढेको छ । महँगी बढेको छ । विदेशी लगानी घटेको छ । तर, प्रधानमन्त्रीले हिजोको भन्दा आज धेरै प्रगति भयो भन्नुभएको छ । म भन्छु, हिजोभन्दा आज प्रगति भएकै हो तर, त्यो भ्रष्टाचारको प्रगति हो । हिजो करोडको भ्रष्टाचार हुन्थ्यो, अहिले अरबौंको भ्रष्टाचार भएको छ ।’

सुन काण्ड, वाईबडी काण्डलगायत भ्रष्टाचार काण्डमा दोषीलाई कारबाही नभएकोमा नेता जोशीले सरकारविरुद्ध आक्रोश पोखे । उनले भने, ‘सुन काण्डमा सरकारले किन परीणाम ल्याउन सकेन ? प्रधानमन्त्रीले डा. गोविन्द केसीको विषयमा संसदीय सर्वोच्चताको खिल्ली उडाउनुभयो ।’

सरकारले हरेक कुरामा तामझाम देखाएको तर परीणाम केहीमा पनि दिन नसकेको जोशीको आरोप छ । उनले भने, ‘ठूलो कुरा गरेर हुँदैन् । काम गर्नुपर्छ । विकास निर्माणका काम गर्नुपर्छ । पानीजहाजको सपना देख्नु गलत होईन । तर, तामझाम गर्नुहुँदैन् ।’ उनले मुलुक अहिले रशातालमा रहेको बताए ।

जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त पाठकको भ्रष्टाचारको विषयमा सरकारलाई चार महिना अघि नै जानकारी रहेको भन्ने कुरा बाहिर आएको सुनाउँदै यतिका दिनसम्म पनि किन कारबाही गरिएन भन्दै प्रश्न तेर्साए ।

जोशीले अहिलेको जस्तै र यही रुपमा भ्रष्टाचार बढ्यो भने मुलुक अझै ठूलो आर्थिक संकटमा फस्ने चिन्ता व्यक्त गरे । उनले भने, ‘तथ्यांक हेर्ने हो भने पनि अहिले नेपालको डुईङ विजनेश ५ अंकले घटेको छ, विदेशी लगानी ६६ प्रतिशतले घटेको छ, यो अत्यन्तै चिन्ताजनक हो ।’ मुलुकमा भ्रष्टाचार संस्थागत भएको हो कि भनेर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत चिन्ता व्यक्त गरेको सुनाउँदै उनले यो ठूलो समस्या भएको बताए ।

जोशीले सुशासन र सदाचार अब कहाँ छ भनेर खोज्ने दिन आउनसक्ने पनि बताए । जोशीले सरकार पूर्ण रुपमा असफल भएको दाबी गरे ।

Advertisement

Advertisement

Advertisement