राससको प्रस्तावनाप्रति प्रदेश सरकार गम्भीर छः कानूनमन्त्री यादव

Advertisement

जनकपुरधाम । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले राससबाट आएको प्रादेशिक अवधारणासहितको प्रस्तावनालाई गम्भीररुपमा लिएको बताएका छन् ।

राससको ५८औँ वार्षिकोत्सवको अवसरमा प्रदेश नं २ को राजधानी जनकपुरधाममा आज आयोजित “सङ्घीय संरचनामा राससको भूमिका” विषयक अन्तक्र्रिया कार्यक्रममा उनले राससलाई सङ्घीय संरचनाअनुसार कसरी अगाडि बढाउनेलगायतका सुझावसहितको प्रदेश सरकारलाई बुझाएको प्रस्तावनाप्रति सरकार गम्भीर रहेको बताए।

मन्त्री यादवले प्रदेश सरकारबाट सदनमा दर्ता गराइएको सञ्चारसम्बन्धी विधेयकमा यस प्रस्तावलाई समेट्ने प्रयास गरिएको उल्लेख गर्दै प्रदेश सरकार राससका लागि छुट्टै विनियमावली बनाएर अघि बढ्ने बताए । विभिन्न पक्षबाट व्यापक छलफल गरेर सरकारले संसद्मा सञ्चारसम्बन्धी विधेयक दर्ता गराएको र फागुन १५ गते बस्ने प्रदेशसभा बैठकमा यसलाई प्रस्तुत गरिने जानकारी दिनु हुँदै फागुन मसान्तभित्रै सो विधेयक पारित गराएर प्रदेशस्तरीय प्रेस काउन्सिल स्थापना गर्ने बताए ।

मन्त्री यादवले सञ्चार क्षेत्रलाई स्वतन्त्र र निष्पक्ष बनाउन प्रदेश सरकारले कुनै अङ्कुश नलगाउने प्रतिबद्धता व्यक्त गर्दै सञ्चार क्षेत्र बलियो भए मात्र सङ्घीय र प्रदेश बलियो हुने भएकाले सञ्चार क्षेत्रलाई बलियो बनाउन प्रदेश सरकारले सञ्चारसम्बन्धी विधेयक ल्याउन लागेको स्पष्ट पारे।

जनताले सोेचेकोजस्तो प्रदेश सरकारले काम गर्न नसके पनि विकासको चार चरणमध्ये महत्वपूर्ण चरण हलचलको चरणबाट माथि उठेर कानून बनाउने चरणसम्म पुगेको कुरालाई उपलब्धिको रुपमा लिएको उल्लेख गर्दै उनले भने, “विकासका लागि सबैभन्दा महत्वपूर्ण र जग हाल्ने चरण हलचलको चरण हो, त्यसलाई प्रदेश सरकारले पार गरिसकेको छ, अब कानून बनाएर अघि बढ्ने हो । त्यसपछि विकास र समृद्धिले गति लिन्छ ।”

प्रहरी र सुरक्षाको विषय प्रदेश सरकारको अधिकारको विषय भएको संविधानले नै सुनिश्चित गरिसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकारभन्दा शक्तिशाली बनाउन खोजेको आरोप लगाउँदै मन्त्री यादवले यसबाट सङ्घीय सरकारले प्रदेशको अधिकार खोसेर सङ्घीयतालाई कमजोर बनाउन खोजेको आरोपसमेत लगाए ।

कार्यक्रममा वरिष्ठ पत्रकार राजेश्वर नेपालीले समयसापेक्ष रुपमा राससले पनि आफ्नो सेवामा स्तरीयता बढाउँदै जानु आवश्यक रहेको बताउँदै राससले सरकार र जनताबीच पुलको भूमिकामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । उनले सरकार र नेताको मात्र होइन, गाउँका निमुखा, उत्पीडित समुदायको समेत समस्यालाई राससले प्राथमिकता दिनुपर्ने सुझाव दिदैं जनताको सवाललाई गहनरुपमा उठाउन सकिए राससको अगामी यात्रा सहज हुँदै जाने विश्वास व्यक्त गरे ।

त्यस्तै अर्का वरिष्ठ पत्रकार तथा साहित्यकार रामभरोस कापडीले समयसापेक्ष रुपमा राससलाई प्रतिस्पर्धी बनाउनुपर्नेमा जोड दिदैं सरकारले राससलाई प्रतिस्पर्धी र त्यसमा कार्यरत सञ्चारकर्मीको जीवनवृत्ति, विकासमा ठोस नीति बनाउन आवश्यक रहेको बताए ।

रासस प्रदेश नं २ का प्रमुख हिमांशु चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य शैलेन्द्र झा, महासङ्घका प्रदेश नं २ महासचिव किरण कर्ण, महासङ्घका धनुषा अध्यक्ष अनिल मिश्र, सामुदायिक रेडियो प्रसारक सङ्घका प्रदेश नं २ अध्यक्ष अशोक दत्तलगायतले राससमा बढ्दै गएको राजनीतिक नियुक्ति गर्ने परिपाटीका कारण राससप्रति हेर्ने आम सञ्चार जगत्को दृष्टिकोण केही नाकारात्मक भएको भन्दै राससलाई मर्यादित, निष्पक्ष, लोक कल्याणकारी, खोजमूलक, प्रेरणादायी र तथ्यपरक बनाउनुपर्ने सुझाव दिए।

श्रमजीवी पत्रकार ऐन बनिसकेको अवस्थामा त्यसको कार्यान्वयन नहुनु दुःखद् पक्ष भएको भन्दै उनीहरुले सरकारी स्वामित्वको सञ्चारमाध्यमबाटै यसको कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा राससको स्थापनाकालमै राससका लागि समाचार सङ्कलन गरी योगदान पु¥याएबापत वरिष्ठ पत्रकार राजेश्वर नेपालीलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै राससमा प्रदेश नं २ बाट उत्कृष्ट जिल्ला समाचारदाताको रुपमा अरुणकुमार यादव सप्तरी, उत्कृष्ट आलेखतर्फ सञ्जीतकुमार मण्डल महोत्तरी र उत्कृट फोटोतर्फबाट विजयकुमार महतो पर्सा लाई पुरस्कृत गरिएको छ । उत्कृष्ट हुनेलाई कदरपत्रसहित जनही नगद पाँच हजार रुपियाँको दरले मन्त्री यादवले पुरस्कार प्रदान गरे ।

राससका धनुषा संवाददाता अजयकुमार साहले सञ्चालन गरेको उक्त कार्यक्रममा राससका सिरहा प्रमुख राजु विश्वकर्माले राससको संक्षिप्त इतिहास र महत्वबारे प्रकाश पारे ।

Advertisement

Advertisement

Advertisement