मापदण्ड विपरीत मासु पसल र होटल सञ्चालन

Advertisement

लहान । सिरहाको लहानस्थित अधिकांश मासु पसल तथा होटल मापदण्ड पूरा नगरी सञ्चालनमा रहेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले लहानमा रहेको मासु पसल तथा होटलमा गरेको अनुगमनको क्रममा मासु पसलमा नापतौलबाट विद्युतीय तराजु प्रमाणित नभएको र सरसफाइ तथा व्यवस्थित नभएको पाइएको हो ।

इलाका प्रशासन कार्यालय लहानका प्रमुख सोमप्रसाद भट्टराईको नेतृत्वमा गरिएको अनुगमनको क्रममा लहान नगरपालिका–६ स्थित राजु वेकरी उद्योग, न्यू मुङ्गेरिया स्वीट एण्ड चाट हाउसमा अनुगमन गर्दा सरसफाइ तथा खाद्यान्न अनुज्ञापत्र नरहेको पाएको छ ।

त्यसैगरी किसन स्वीटस एण्ड चार्ट हाउसमा पनि सरसफाइ राम्रो नरहेको तथा बिना लेबल ब्रेड बिक्री वितरण भइरहेको साथै उक्त होटलमा म्याद समाप्त भएको पेयपदार्थ कोकोकोला दुई लिटरको १४ थान, फेण्टा दुई लिटरको सात थान र स्पराइट दुई लिटरको १० थान फेला परेकाले नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए।

अनुगमनको क्रममा खाद्यान्न अनुज्ञा प्रमाणपत्र नरहेको होटललाई अनुज्ञापत्र लिन सात दिनको म्याद दिइएको प्रमुख सुरेशकुमार सिंहले बताए ।

Advertisement

Advertisement

Advertisement