सेयर बजारमा निराशाजनक स्थिति, नेप्सेसँगै किनबेच पनि ह्वात्तै घट्यो

Advertisement

काठमाडौं । सेयर बजारमा गिरावट बुधबार पनि जारी रह्यो । आज नेप्से परिसुचक दोहोरो अंक (१२.७२ अंक)ले घटेर एक हजार ११२ अंक कायम भएको छ । सेयर कारोबार पनि घटेर जम्मा १६ करोड ६१ लाख रुपियाँको किनबेच भएको छ ।

सुधारका लागि प्रयास हुँदाहुँदै पनि सेयर बजार निरन्तर घट्दा लगानीकर्ताहरु निराश स्थितिमा पुगेका छन् । सेयर बजार सुधारका लागि अर्थ मन्त्रालयले बनाएको कार्यदलले दिएका कतिपय सुझावअनुसार काम अघि बढेको, अनलाइन प्रणालीमा सुधार हुँदै गएको, बैंकहरुको नाफा पनि सन्तोषजक रहेको, नियामक निकाय धितोपत्र बोर्डले बजार अब नघट्ने भएकाले ढुक्क भएर लगानी गर्न आह्वान गरेको जस्ता स्थितिमा पनि बजार सुधार नआउँदा उनीहरु निराश भएका हुन् ।

बजारमा मागभन्दा आपूर्ति धेरै हुनु, बैंकहरुको ब्याजदरमा कमी नआउनु, सेयर कर्जामा खासै सहजता नहुनु, लगातार बजार घट्दा लगानीकर्ता पर्ख र हेरको स्थितिमा बस्नु जस्ता कारणले नेप्से निरन्तर ओरालो लागेको विश्लेषकहरुको भनाई छ । कतिपयले कम्युनिष्ट सरकारले आर्थिक नीति प्रष्ट नहुँदा पनि त्यसको प्रभाव सेयर बजारमा परेको हुनसक्ने बताउँछन् ।

आजको कारोबारमा उत्पादनमूलकबाहेक सबै समूहहरु ओरालो लागेका छन् । सबैभन्दा धेरै गिरावट दर जीवन बीमा समूहमा दुई दशमलव ७१ प्रतिशत रहेको छ । वित्त, जीवन बीमा र जलविद्युत समूहको उपसुचक पनि एक प्रतिशतभन्दा बढिले घटेका छन् । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगटेको बाणिज्य बैंक समूहको गिरावट शुन्य दशमलव ९१ प्रतिशत छ, जुन तुलनात्मकरुपमा अरु समूहको गिरावटभन्दा निकै धेरै हो । आज सबैभन्दा धेरै कारोबार गर्ने अपर तामाकोशीको ९३ करोड रुपियाँको सेयर किनबेच भएको छ ।

Advertisement

Advertisement

Advertisement