चौधरी फाउण्डेसनले पाँच सयभन्दा बढिलाई कृतिम हात खुट्टा वितरण गर्यो

Advertisement

काठमाडौं । चौधरी फाउण्डेसनले संचालन गरेको कृतिम हात खुट्टा जडान शिविरबाट ५०८ जना लाभान्वित भएका छन् । विभिन्न कारणबाट हात खुट्टा गुमाएकाका लागि यो शिविर निकै महत्वपूर्ण अवसर सावित भएको फाउण्डेशनको भनाई छ ।

काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटल र नवलपुरको सहज सामुदायिक अस्पतालमा शिविरको आयोजना गरिएको थियो । गत पुस २७ गते सुरू भएको शिविर फागुन ८ गतेसम्म संचालन गरिएको जनाइएको छ ।

चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले हात खुट्टा जस्ता संवेदनशील अंगको अभावमा जीवन बिताईरहेकाहरूलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले भने, ‘हात खुट्टा नहुनु भनेको जीवन नै अर्कै चरणबाट गुज्रिन बाध्य हुनु हो । हामीले कृतिम हात खुट्टा उपलब्ध गराएर उहाँहरूको जीवनमा रूपान्तरण ल्याउने कोशिस गरेका छौं । यसले उहाँहरूको जीवनमा ठूलो फरक पार्नेछ भन्ने हाम्रो विश्वास छ ।’

चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ सहायता समिति र भारतीय दुतावाससँगको सहकार्यमा नेपालमा कृतिम खुट्टा वितरण गर्ने कार्यक्रम संचालनमा आएको हो । पहिलो चरणमा काठमाडौंको नर्भिक अस्पतालमा पुस २७ देखि ३० गतेसम्म ५९ जना लाभान्वित भएका थिए । दोस्रो चरणमा नवलपुरको गैंडाकोटस्थित सहज सामुदायिक अस्पतालमा माघ ३ गतेदेखि संचालनमा आएको शिविरबाट थप ४६१ जना लाभान्वित भएका छन् । जसमध्ये ४३५ जनाले कृतिम खुट्टा, ५२ जनाले कृतिम हात र २१ जनाले क्यालिपरको सेवा लिएको फाउण्डेशनले जानकारी दिएको छ ।

नेपालमा करिव एक लाख मानिसका लागि कृतिम हात खुट्टाको आवश्यकता रहेको अनुमान छ । यो समस्यालाई दिगोरुपमा समाधान गर्न चौधरी फाउण्डेसनले भगवान महाविर विकलाङ सहायता समिति र सहज सामुदायिक अस्पतालसँगको सहकार्यमा स्थायीरुपमा नै यो सेवा सुरू गर्ने योजना बनाएको जनाइएको छ । स्थायी सेवा शुरू भएपछि आवश्यक व्यक्तिले आफ्नो अनुकुल समयमा अस्पतालबाट सेवा लिन सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement