वीरगन्ज । कांग्रेसको भावी नेतृत्वका लागि कोइराला परिवारका नेताहरुले गतिविधि सुरु गरेपछि सो पार्टीका सभापति शेरबहादुर देउवा आक्रोसित भएका छन् । उनले आफ्नो कार्यकाल छँदै कोइराला परिवार सदस्यहरु अग्रसर भएपछि देउवाले आक्रोस पोखेका हुन् ।
कोइराला परिवारका शेखर, शशांक, सुजाताहरु आफ्नो परिवारबाट बाहिर गएको नेतृत्व अब फर्काउनुपर्ने लाइनमा छन् । व्यक्तिगतरुपमा मेल नभए पनि पार्टी नेतृत्व आफ्नो परिवारमा फर्काउनुपर्ने कुरामा उनीहरु एक भएको देखाइसकेका छन् । सोही अनुसार देउवाबाट पार्टी सञ्चालन हुन नसक्ने भन्दै लबिङमा लागिरहेका बेला देउवाले उनीहरुविरुद्ध कडा प्रहार गरेका छन् ।
यसअघि गएको शनिवार वीरगन्जमा एकै मञ्चमा उपस्थित भएर कोइराला परिवारका तीन नेताहरु महामन्त्री शशांक, केन्द्रीय सदस्यद्वय शेखर र सुजाताले आफूहरु भावी नेतृत्वका लागि एकजुट भएको बताएका थिए । यद्यपि सो पार्टीको आगामी महाधिवेशनको टुँगो अझै लागेको छैन् ।
कोइराला परिवारका नेताहरु आफूविरुद्ध एक भएको ठाउँमा आएर देउवा र उनको पक्षका नेताहरुले यो पार्टी कोइराला परिवारको बपौती नभएको भन्दै चलखेल नगर्न चेतावनी दिए ।
पर्सा काँग्रेसको जिल्लास्तरीय भेलामा देउवाले कांग्रेस पार्टी कोइराला परिवारको बपौती नभएको बताए । भन्दै भने, ‘कोइराला थर हुँदैमा पार्टी सभापति नै बन्न पाउनुपर्छ भन्ने तर्क नाजायज हो । कोइराला थर छ भन्दैमा पार्टी सभापति बन्न पाउनै पर्छ भनेर भन्न पाइन्छ ? त्यस्तो हुँदैन् ।’
उनले पार्टीमा वीपी गिरिजाप्रसादको योगदान रहे पनि बाँकीको योगदान नरहेको भन्दै उनीहरुको छोरा भतिजा हुँदैमा सभापति चाहिने कुरा मिल्दैन भने । देउवाले भने, ‘जसले पार्टीमा योगदान नै दिएको छैन, पार्टीमा केही गरेकै छैन, उसैले कार्यकर्तामाझ जथाभावी बोल्दै हिँड्ने ।’
नेता शेखर कोइरालातर्फ लक्षित गर्दै उनले भने, ‘यो पार्टीका लागि उनको योगदान के छ ? पार्टीका लागि उनी कहिले कति दिन जेल बसे ? मण्डलेहरुले मेरो टाउको फुटाउँदा र म जेल बस्दा शेखर कहाँ थिए ? पार्टीका लागि कुनै योगदान नै नगर्ने अनि अहिले कोइरला थर भयो भन्दैमा पार्टी सभापति नै बन्न पाउनु पर्छ भनेर जथाभावी बोल्दै हिँड्ने ?’
देउवाले जथाभावी बोल्दै हिँड्ने शेखरलाई कारबाही गर्ने चेतावनी पनि दिए । उनले कांग्रेस भित्र अराजकता र अनुशासनहीनता बढ्दै गएको भन्दै अनुशासनहीन र अन्तरघातीकै कारण विगतको निर्वाचनमा कांग्रेसले हार व्यवहोर्नु परेको बताए ।
देउवाले भने, ‘जबसम्म अन्तरघातीलाई कारबाही हुँदैन, तबसम्म पार्टीको भविष्य पनि हुन्न । अन्तरघाती र अनुशासनहीन नेतालाई कुनै पनि हालतमा कारवाही हुनै पर्छ र त्यो समय पनि अब आइ सकेको छ, म त्यसका लागि तयार छु ।’
देउवा पक्षका नेता प्रकाशशरण महतले पनि नेताहरुमा पार्टीको अनुशासन तोड्ने र अन्तरघात गर्ने प्रवृत्ति हाबी हुँदै गएको भन्दै कोइराला परिवारको कडा आलोचना गरे ।