पाठकले घुस लिएको भिडियो अख्तियार पुग्यो

Advertisement

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले भक्तपुरस्थित इन्जिनियरिङ कलेजबाट लाखौं रुपियाँ घुस लिएको भिडियो अख्तियार पुगेको छ । सत्तारुढ दल नेकपाले सो भिडियो अख्तियारलाई छानविन र कारवाहीका लागि हस्तान्तरण गरेको हो ।

पाठकलाई कारवाहीका लागि प्रमाण बटुल्ने क्रममा बिहीबार सिंहदरबारस्थित नेकपाको संसदीय दलमा पुगेको अख्तियारको तीन सदस्यीय अनुसन्धान टोलीलाई सो पार्टीका नेता सुवास नेम्बाङले भिडियोसहितको पेन ड्राइभ र अन्य कागजपत्र दिएका हुन् ।

कलेजबाट पाठकले ७८ लाख घुस लिएको समाचार बाहिर आएको छ । लामो समयदेखि विवादमा रहेको उक्त कलेज गैरनाफामुलक संस्थाको रुपमा रहे पनि यसका केही सञ्चालकहरुले निजी कम्पनीमा यसको स्वामित्व हस्तान्तरण गन्र प्रयास गर्दै आएका छन् ।

पाठकले इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विवाद मिलाइदिने भन्दै ठूलो रकम घुस लिएको भिडियोबाट पुष्टि हुने जनाइएको छ । घुस प्रकरणको भिडियो निकै पहिलो पाएका सत्तारुढ दलका नेताहरु मिडियामा नआउँदासम्म मौन थिए ।

अख्तियारले मंगलबार मात्रै एकजना सहसचिवको नेतृत्वमा तीन सदस्यीय अनुसन्धान टोली गठन गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले राजीनामा दिएका आयुक्त पाठकमाथि अख्तियारले नै छानबिन गर्न सक्ने राय दिएपछि अख्तियारले छानविन अघि बढाएको हो ।

Advertisement

Advertisement

Advertisement