पोखरा विश्वविद्यालयमा आर्थिक चलखेल, प्राइभेट कलेजको स्वार्थमा डीप्लसको रजिष्ट्रेशनको तयारी

Advertisement

काठमाडौं । निजी कलेजहरुले गैरकानुनीरुपमा कक्षा १२ मा डी प्लस ल्याउनेलाई पनि भर्ना गरिएका विद्यार्थीहरुको पोखरा विश्वविद्यालयमा रजिष्ट्रेशन नहुने अवस्था आएपछि विश्वविद्यालयका पदाधिकारीले निजी कलेजको आर्थिक प्रलोभनमा उनीहरुको रजिष्ट्रेशन गर्ने तयारी गरेका छन् ।

निजी कलेजहरुले आर्थिक प्रलोभन दिएपछि पोखरा विश्वविद्यालयका पदाधिकारीले सयौंको संख्यामा रहेका डीप्लसका विद्यार्थीहरुलाई भर्ना रजिष्ट्रेशन गर्न चलखेल सुरु भएको हो । व्यवस्थापन संकायको बीबीए, बीआई र बीसीएमा भर्ना हुनको लागि सर्टिफिकेटमा कम्तिमा सी ग्रेड प्राप्त हुनुपर्ने यसअघिको निर्णयलाई लत्याउँदै प्राज्ञिक परिषदका सदस्यहरुले आर्थिक प्रलोभनमा डीप्लसलाई पनि रजिष्ट्रेशन गर्न लागेको विश्वविद्यालय स्रोतले बतायो ।

ग्रेडिङ सिस्टम लागु गर्ने भन्दै पोखरा विश्वविद्यालयको प्राज्ञिक परिषदको २०७५ जेठ १८ गतेको ६८ औँ बैठकले व्यवस्थापन संकायको बीबीए, बीआई र बीसीएमा भर्ना हुनको लागि कक्षा १२ को सर्टिफिकेटमा कम्तिमा सी ग्रेड प्राप्त हुनुपर्ने निर्णय गरेको थियो । तर निजी कलेजहरुले उक्त निर्णयलाई लत्याउँदै डीप्लसलाई पनि भर्ना गरेर रकम उठाउने र उनीहरुको भविश्य जोखिममा पार्ने काम गर्दै आए ।

विश्वविद्यालयको त्यस निर्णयको आधारमा छात्रवृद्धिमा पाँच सय विद्यार्थी भर्ना पनि गरियो र आफ्नो सेमेस्टर प्रणाली अनुसार बोर्ड इक्जाम यही फागुन २१ गतेबाट सञ्चालन हुन गईरहेको छ । त्यसरी सहजरुपमा आफ्नो शैक्षिक मर्यादा अनुसार चलेको विश्व विद्यालयमा अहिले प्राईभेट कलेजका शैक्षिक माफियाहरुले आफ्नो स्वार्थ अनुसार डी प्लस ग्रेड ल्याएका विध्यार्थीहरुको भर्ना गर्ने काम गरे ।

आफूहरुले यस्ता विद्यार्थीहरुको रजिष्ट्रेशनको लागि आवेदन आउँदा विश्वविद्यालयबाट छानबिन गरी परिक्षा नियन्त्रण कार्यालयबाट चलानी नम्बर २८६।७५।७६ अनुसार प्राज्ञिक परिषदको ६८ औँ बैठकको निर्णय बमोजिमको न्यूनतम योग्यता नपुगेको भनि रजिष्ट्रेशन फारम दर्ता नहुने व्यहोरा जानकारी गराउँदा त्यसलाई बेवास्ता गर्ने काम भइरहेको स्रोतले बतायो ।

अहिले त्यस्ता विद्यार्थीहरुको संख्या ३३५ जना छन् । यिनीहरुको भर्ना मूल्य चार लाख रुपियाँ रहेको छ । चार वर्षे यस कार्यक्रममा ३३५ जनाको दर्ताबाट १३ करोड ४० लाख संकलन हुन्छ । प्राइभेट विद्यालयहरुले यस्तै आर्थिक प्रलोभन देखाई विश्व विद्यालयको प्राज्ञिक परिषदबाट डी प्लस ग्रेडलाई सुनपानी हाली चोखाउने बाटोमा विश्वविद्यालय लागि परेको स्रोतको गुनासो छ । डीप्लसलाई भर्ना गर्न नमिल्ने कुरा थाहा हुँदाहुँदै विश्वविद्यालयकै पदाधिकारीको इशारामा निजी कलेजहरुले उनीहरुलाई भर्ना लिए । अहिले परीक्षा नजिकिएको बेला रजिष्ट्रेशनका लागि बार्गेनिङ चलिरहेको छ ।

पोखरा विश्वविद्यालय प्राध्यापक संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, विद्यार्थी संघ र संगठन तथा स्ववियू सबैको विरोधलाई लत्याउँदै प्राज्ञिक परिषदका सदस्यहरु प्राध्यापक चिरञ्जीवी शर्मा, गोविन्द शर्मा, डीनहरु प्राडा इन्द्र तिवारी, खेमराज जोशी, प्राध्यापक हरिबहादुर खड्का, इन्जिनियर बुद्धिराज जोशी र परिक्षा नियन्त्रक डाक्टर भरतराम ढुंगाना, राजेशकुमार ठगुराठी, गुलाम खान एकलौटी रुपमा प्राईभेट कलेजको पक्षमा निर्णय गरी विश्व विद्यालयको शैक्षिक र प्राज्ञिक गरिमाको धज्जी उडाई विश्वविद्यालयलाई ओपीईओएन (पोखरा विश्वविद्यालय शिक्षण संस्थाहरुको संघ)को गोजीमा पुर्याइ आफू अकुत रकम कुम्ल्याउने दाउमा रहेको स्रोतको दाबी छ ।

Advertisement

Advertisement

Advertisement