काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादर कार्कीले आफूहरुलाई लक्षित गरी गरेको टिप्पणीप्रति स्टक ब्रोकरहरुले आपत्ति जनाएका छन् । स्टक ब्रोकर एशोसियशनले विज्ञप्ति जारी गरी मिडियामा कार्कीले बोलेको कुराप्रति आपत्ति जनाएको हो । स्टक ब्रोकरहरुले धितोपब बोर्डमा गएर ज्ञापनपत्र पनि बुझाए । उनीहरुले स्टक ब्रोकरहरुलाई अपमानित गर्दै उदण्ड व्यवहार देखाएको भन्दै कार्कीले अब पदमा बसिरहन नमिल्ने तर्कसमेत गरे ।
गत मंगलबार संसदको अर्थसमितिमा संघका अध्यक्ष भरत रानाभाटलाई अपमानपूर्ण व्यवहार गर्दै टिप्पणी गरेको स्टक ब्रोकरहरुको गुनासो छ । कार्कीले स्टक ब्रोकर व्यवसायलाई नियोजितरुपमा गलत व्यख्या गरेको व्यवसायीहरुको टिप्पणी छ । संघको विज्ञप्तिमा अर्थसमितिको छलफलमा कार्कीले धितोपत्र दलाल व्यवसायीहरु सुशासित, सक्षम तथा प्रतिस्पर्धी नभएको भन्ने कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण आरोप लगाएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हामी सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु अध्यक्ष कार्कीको त्यस्तो कपोलकल्पित, झुटो तथा भ्रमपूर्ण अभिव्यक्तिको घोर निन्दा र भत्सर्ना गर्दछौं । धितोपत्र बोर्डले बनाएका नीति–नियमहरु बमोजिम धितोपत्र दलाल व्यवसायीहरुले हालसम्म पनि ग्राहकको लागि धितोपत्रको खरिद–बिक्री गरिदिने र सोको राफसाफ गरिदिनेभन्दा बाहेकका अन्य कार्यहरु गर्न नपाईने व्यवस्थाले समग्र पुँजीबजारलाई नै चुस्त र चलायमान हुनबाट अबरोध सिर्जना भईरहेको अवस्थामा व्यवसायीहरुले सम्पूर्ण बजारको विकासमा टेवा पुग्ने गरि आफ्नो कार्यक्षेत्र विस्तार गर्न धितोपत्र बोर्ड समक्ष बारम्बार अनुरोध गरि आवश्यक पूँजी, प्रविधि र जनशक्तिमा लगानी गरिसकेको अवस्थामा पनि आफूले सहजिकरण गर्नुपर्नेमा सो नगरि धितोपत्र दलाल व्यवसायीहरु प्रतिस्पर्धी हुन सकेनन् भनेर अर्थसमितिमा समेत किन झुठो तथा भ्रमित ब्रिफिङ गर्नु भयो ? हामी दुःखी तथा आश्चर्यचकित भएका छौं ।’
धितोपत्र बोर्डका अध्यक्षको हैसियतमा नेपाल सरकारले लागू गरेका नीति नियम र सुधारका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अनेकौंै कामहरु उनले गर्नुपर्ने हुन्छ तर उल्टै काममा आलटाल गर्दै बजारमा अन्यौल सिर्जना गर्न दत्तचित्त भएर लागेको भन्दै संघले हामी मात्र नभई सरोकारवाला सबै दुःखी भएको जनाएको छ ।
आजका दिनसम्म (२५ बर्षसम्म) पनि नियामक निकाय तथा बजार सञ्चालकले दोस्रो बजारको अति आवश्यक मानिने राफसाफ प्रत्याभूति कोष तथा अक्सन मार्केट जस्ता पूर्वाधारहरु नल्याएको अवस्थामा समेत धितोपत्र दलाल व्यवसायीहरुको उच्च सुशासन तथा नैतिक व्यावसायिक कार्यकुशलताले गर्दा खरिदकर्ताले शेयर प्राप्त नगरेको तथा बिक्रीकर्ताले रकम प्राप्त नगरेको एउटा पनि घटना नभएको व्यवसायीहरुको जिकिर छ ।
आवश्यक पूर्वाधारमा भएको यस्तो गम्भिर कमजोरी महशुस गरि धितोपत्र बजार प्रति लगानीकर्ताको विश्वसनियता नगुमोस भनि थप आर्थिक भार ब्यहोरेर भए पनि काम गरिरहँदा पनि सुशासन नभएको भनेर आरोप लगाउनु समग्र पुँजीबजार कै लागि दुर्भाग्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
हाल सञ्चालनमा रहेका व्यवसायीहरुबाट नै दोस्रोबजार यथेष्ट रुपमा विस्तार गर्न सकिने आधार हुँदाहुँदै पनि त्यसलाई नजरअन्दाज गरि अनावश्यक प्रचारबाजी र विवाद सिर्जना गर्नुपूर्व दोस्रोबजारको वास्तविक आकार, सूचिकृत कम्पनीको संख्या तथा तिनीहरुले प्रतिनिधित्व गर्ने क्षेत्र, बजारमा हुने जोखिम, कारोबार गर्ने प्रकृया र प्रणालीको वस्तुपरक अध्ययन गरि दोश्रोबजारलाई वास्तविक रुपमा कती धितोपत्र दलाल व्यवसायीहरु आवश्यक पर्ने हो, निक्र्योल गरिनु पर्ने संघले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘दोस्रोबजारमा पूर्वाधार, औजार र सेवा प्रदायकलाई कार्यक्षेत्र विस्तार गरि क्षमतावान बनाई बजारलाई पारदर्शी, थप चुस्त र गतिशिल बनाउन सकेमात्र प्राथमिक बजारको आकर्षण बढ्न गई देशमा पुँजी परिचान भई उद्योग व्यवसाय खुल्ने, रोजगारी सिर्जना हुने, उत्पादकत्व बढ्ने आदी भई समग्रमा राज्यले लिएको “समृद्ध नेपाल सुखी नेपाली” को लक्ष्य पुँजीबजारमार्फत् हासिल गर्न धितोपत्र बोर्डका अध्यक्षको सही भूमिकाले धेरै महत्व राख्दछ । यसमा प्रयाप्त ध्यान नदिंदा बिद्यमान अवस्थामा बर्षौदेखि सञ्चालनमा आएका उद्योग प्रतिष्ठान र परियोजनाहरुका शेयरहरु समेत प्राथमिक बजारमा बिक्री गर्न नै हम्मे हम्मे भएको अवस्था सबैको सामू छर्लङ्ग छ ।’
आफूले आफैंलाई महाशत्रु स्वघोषणा गरेर सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु प्रति अनावश्यक शत्रुगत व्यवहार गर्ने व्यक्ति नियामक निकायको अध्यक्ष भएर बसिरहदाँ समग्र पुँजीबजारको भविष्य थप तहस–नहस हुन सक्ने कुरामा हामी सम्पूर्ण धितोपत्र दलाल व्यवसायीहरु अत्यन्त चिन्तित छौं भन्दै संघले बिगत चार बर्षदेखि उक्त भावना पाली दलाल व्यवसायीहरुको क्षमता विस्तारमा बदलाको भवनाले अंकुश लगाउँदै समग्र बजारको विकासलाई नै बाधा पु्याउँदै आएको कुरा समय र बजार विकासको गतिले पुष्टि गरेको जनाएको छ ।