अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा छापा

Advertisement

साँखु । विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–६ नागेश्वर गल्लीमा आज छापा मार्दा विषादीयुक्त मदिरा तथा कच्चा पदार्थ बरामद गरेको हो । मदिरा बनाउन राखिएको १५ हजार ६०० लिटर कच्चा पदार्थ र तयारी अवस्थामा रहेको अवैध तथा विषादीयुक्त एक हजार ५०० लिटर मदिरा नष्ट गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

प्रहरीले छापाको क्रममा मदिरा तथा मदिरा बनाउन प्रयोग गरिने कच्चापदार्थ राखेको ७८ वटा २०० लिटरका ड्रम र ४० वटा ४० लिटरका ड्रमसमेत बरामद गरेको छ । यसअघि पटकपटक छापा मारेर अवैध मदिरा उत्पादन गर्ने कच्चा पदार्थ र मदिरा नष्ट गर्दै आएको बौद्ध वृत्तले पुनः भट्टी सञ्चालनमा आएको सूचनापछि छापा मारेको हो । प्रहरीले स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र स्थानीयवासीसहित राखेर बरामद मदिरा नष्ट गरेको थियो ।

Advertisement

Advertisement

Advertisement