सम्पदा मासेर व्यापारिक भवन बनाइएकोे रहेछ भने छायाँ सेन्टर भत्काउँछौँः मन्त्री अर्याल

Advertisement

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयकी मन्त्री अर्यालले सम्पदा मासेर व्यापारिक कम्प्लेक्स ‘छाया सेन्टर’ बनाइएको रहेछ भने भत्काउने बताएकी छन् । स्थानीयले ऐतिहासिक सम्पदा कमल पोखरी मासेर पाण्डे समूहले सत्ता र शक्तिको बलमा व्यापारिक कम्प्लेक्स बनाएको भन्दै भत्काउन आन्दोलन चर्काएको बेला मन्त्री अर्यालले शुक्रबार रिपोर्टर्स क्लवमा यस्तो बताएकी हुन् ।

राजगुठीको रुपमा रहेको कमलपोखरीलाई निजीमा परिणत गरी सो ठाउँमा व्यापारिक कम्प्लेक्स बनाउने काम गरिएको स्थानीयको भनाई छ । मन्त्री अर्यालले सरकारी तथा सार्वजनिक जमिन हडप्ने जोकोहीमाथि कारबाही गर्ने बताउँदै भनिन् “विधि र प्रक्रिया मिचिएको रहेछ भने त्यस्ता भवन भत्काउँछौं ।’

मन्त्री मालपोतमा भएका भ्रष्टाचार तथा अनियमिततालाई नियन्त्रण गर्न सबै कार्यालयहरुलाई डिजिटल बनाउने बताइन् । उनले मालपोत र नापीका सबै कर्मचारी भ्रष्ट नभएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन घिमिरेले भनेजस्तो भ्रष्ट कर्मचारीलाई कारबाही गर्दा कार्यालय नै खाली हुने अवस्था नरहेको जिकिर गरिन् ।

केही खराब मानिसका कारण मालपोत बद्नाम भएको अर्यालको तर्क छ । अब डिजिटल प्रणालीमा काम सुरु भएपछि समस्या समाधान हुने उनले बताइन् । उनले नमुना मालपोत शुरुमा काठमाडौंको कलंकीबाट बनाउने र त्यसपछि देशभरी बनाउने बताइन् । अर्यालले अन्त्यमा सबै कार्यहरुको डकुमेन्ट पेनड्राईभमार्फत पेश गर्ने जानकारी दिईन् । उनले अब बन्ने भू–उपयोग ऐनले जग्गाको व्यवस्थित गर्ने दावी समेत गरिन् ।

जमिनको वर्गीकरण नौ प्रकारले गर्ने तयारी भइरहेको जानकारी दिँदै अर्यालले जग्गा बाँझो राखे कडा कारबाहीको व्यवस्था गर्न लागेको बताईन् । जमिनको वर्गीकरण अनुसार प्रयोग नभए कारबाही गरिने अर्यालको भनाई छ ।

कृषियोग्य जमिन बाँझो राखे ३ लाखसम्म जरिवाना गरिने उनले बताइन् । अर्यालले समग्र भूमिको व्यवस्थापन आगामी पाँच वर्षभित्र गर्नेगरि सरकारले नीतिगत रुपमै तयारी गरिसकेको पनि जानकारी दिईन् । उनले ऐन बनेपछि संघ, प्रदेश र स्थानीय तहमा भू–उपयोग परिषद् र कार्यान्वयन समिति बनाएर ऐनलाई प्रभावकारी बनाइने बताइन् ।

Advertisement

Advertisement

Advertisement