बीमा संस्थानलाई रक्षामन्त्रीले भने– समयानुकुलको प्रविधि र सेवा प्रवाह पुगेन्

Advertisement

काठमाडौँ । रक्षामन्त्री इश्वर पोखरेलले राष्ट्रिय बीमा संस्थानले समयानुकुलको प्रविधिको प्रयोग र सेवा प्रवाहलाई ध्यान दिनु जरुरी रहेको बताएका छन् । सरकारी स्वामित्वको यस संस्थान ५२औं बर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रममा उनले संस्थानले नयाँ प्रविधि र सेवा प्रवाहलाई सुधार गरेर प्रतिस्पर्धी बन्नसक्नुपर्ने बताएका हुन् ।

पोखरेलले मुलुकको बीमा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै अहिलेसम्मका उपलब्धीलाई संस्थागत गर्दै समयानुकुल आफूलाई सुधार गर्दै जान आग्रह गरे । उनले प्रतिस्पर्धी बन्दै गए बीमाका योजनाहरुलाई समय सुहाउँदो बनाउँदै बीमकहरुसामु संस्थानले आफूलाई उतार्नुपर्ने बताए ।

मन्त्री पोखरेलले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले बीमाको पहुँच विस्तारमा द्रुत्ततर गतिले आफूलाई विकास गर्नुपर्ने बताए ।

अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले जोखिम व्यवस्थापन, वित्तीय पहुँच बृद्घि तथा सुरक्षित बचतको लागि बीमा व्यवसायकोे माध्यमद्घारा संस्थानले आन्तरिक स्रोत परिचालन र विदेशी विनियमको बर्हिगमन रोक्न खेलेको भूमिका महत्वपूर्ण रहेको बताए ।

आगामी दिनमा पारदर्शी, प्रविधिमैत्री र प्रतिस्पर्धी कार्य प्रणालीको अबलम्बन गर्दै जीवन बीमा व्यवसायमा आम नागरिकहरूलाई स्तरीय एवं दिगो सेवा प्रदान गर्ने कार्यमा लाग्न उनले सुझाव दिए ।

बीमा समितिका अध्यक्ष चिरञ्जिीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म पनि विस्तार गर्नुपर्ने जिम्मेवारी संस्थानले बहन गर्नुपर्ने बताए । उनले कर्मचारीको उचित व्यवस्थापन गर्नुका साथै उनीहरुको दक्षता बृद्घि गर्नुपर्ने, सूचना प्रविधिको समुचित विकास गर्नुपर्ने तथा लेखा प्रणाली अद्यावधिक गराई पारदर्शी बनाउनुपर्ने सुझाव दिए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले प्रतिस्पर्धामा विश्वास गर्दै व्यवसायलाई परिवर्तन र परिमार्जन गर्दै अगाडि बढ्न आग्रह गरे । राष्ट्र बैंकको सबै नेपालीको बैंक खाता भन्ने अभियान जस्तै सबै नेपालीको बीमा अनिवार्य गर्नुपर्ने आवश्यकता औंल्याए । बीमा अभिकर्ताको भूमिकालाई पनि परिमार्जन गर्दै समय सापेक्ष बनाउनुपर्ने भन्दै शिवाकोटीले आगामी दिनमा व्यक्तिगत नभई संस्थागत र व्यवस्थित बनाउनुपर्ने बताए ।

संस्थान सञ्चालक समितिका अध्यक्ष धनीराम शर्माले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाको रुपमा स्थान बनाउन सफल भएको जिकिर गरे ।

उनले बीमा बजारमा निजी र विदेशी कम्पनीहरुको आकर्षण रहेता पनि संस्थानले आफ्नो स्थान बनाउन सफल रहेको भन्दै मुलुक संघीय संरचनामा पूर्णरुपमा प्रवेश गरिसकेको परिप्रेक्षमा संस्थानले आफ्नो कार्य क्षेत्रलाई सोही बमोजिम सेवा विस्तार गर्ने योजना बनाइरहेको बताए ।

संस्थानका प्रशासक कविप्रसाद पाठकले देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्दै विदेशी मुद्राको व्ययभार रोक्ने संस्थानको प्रमुख उद्देश्य रहेको बताए । संस्थानको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रहेको जानकारी दिंदै उनले भने, ‘हाल संस्थानमा व्यक्तिगत जीवन बीमातर्फ करिब दुई लाख ९८ हजार बीमित तथा रहेको छन् भने यस बर्षबाट करिब तीन लाख राष्ट्रसेवक कर्मचारीहरुको सावधिक जीवन बीमा थप गरिएको छ । त्यसैगरी अन्य ठूला बैंक तथा सार्वजनिक संस्थानका कर्मचारीहरुको बीमा समेत संस्थानले गर्दै आएको छ ।’

यसैगरी पाठकले आर्थिक वर्षको प्रथम अर्धवार्षिकमा चार अर्ब ४१ करोड बीमा शुल्क संकलन गरिएको जानकारी दिँदै एक अर्ब ५१ करोड दाबी भुक्तानी गरिएको बताए । उनले २०७५ पुस मसान्तमा संस्थानको जीवन बीमा कोष १९ अर्ब २१ करोड रहेको बताए ।

Advertisement

Advertisement

Advertisement