नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि धमाधम स्टल बुकिङ

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले गर्न लागेको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’को स्टल बुकिङ सुरु भएको छ । अहिलेसम्म विदेशीबाहेक नेपाली वस्तुहरुको ५० वटा स्टल बुकिङ भइसकेको महासंघले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दियो ।

स्वदेशी र विदेशी गरी तीनसयभन्दा बढि स्टल रहने यस बर्षको मेलामा चीनबाट ८०, भारतबाट १०, पाकिस्तानबाट १५, बंगलादेशबाट ४० स्टलहरु बुकिङ भइसकेको छ । नेपाली हस्तकला र एनटीआइएस वस्तुहरुको ५० वटा स्टल बुकिङ भएको महासंघले जनाएको हो ।

आउँदो चैत १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने यस पटकको प्रदर्शनी आठौं हो । यसमा थाइल्याण्ड, म्यानमारलगायतका मुलुकको पनि सहभागिता रहने छ भने कोरिया, जापानले पनि सहभागिता जनाउने संभावना रहेको महासंघले जनाएको छ ।

विशेषगरी नेपालको राष्ट्रिय व्यापार एकीकृत रणनीति (एनटीआइएस)अन्तर्गत पर्ने वस्तुहरुलाई प्राथमिकता दिएर प्रदर्शनी गरिने गरिन्छ । महासंघकी अध्यक्ष भवानी राणाले निर्यातयोग्य र बढि रोजगारी सिर्जना गर्ने खालका बस्तुहरुलाई प्रवद्र्धन गर्न यस प्रदर्शनीले सहयोग गर्ने बताइन् ।

उनले व्यापार घाटा उच्च भइरहेको बेला निर्यात बढाउन सहयोग गर्ने उत्पादनहरुलाई सरकारले पनि प्रात्साहन गर्नुपर्ने भन्दै लगानी सम्मेलन पनि नजिकिएको बेला यस प्रदर्शनीलाई बृहतरुपमा सम्पन्न गर्नेगरी तयारी भइरहेको बताइन् ।

महासंघका उपाध्यक्ष किशोर प्रधानले स्वदेशी साधन स्रोतमा उत्पादन भइरहेको वस्तुहरुलाई प्रवद्र्धन गर्न मात्रै नभएर अन्तर्राष्ट्रिय व्यवसायिक सम्वन्ध विस्तार गर्न पनि नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाले सहयोग गर्ने बताए । मेलामा अन्तर्राष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष सम्पर्क गर्न सकिने, लगानी र प्रविधिका कुरा गर्न सकिने भएकाले पनि यस मेलाको महत्व बढि रहेको छ ।

Advertisement

Advertisement

Advertisement