खडेरीले बैतडीका खेतीयोग्य जमीन बाँझै

Advertisement

बैतडी । लगातारको खडेरीले बैतडीका थुप्रै फाँटहरु बाँझै छन् । हिउँदे वर्षा नभएकाले गएको चार वर्षयता यहाँका किसानले हिउँदेबाली लगाउन पाएका छैनन् ।

पञ्चेश्वर गाउँपालिका वडा नं ३ का बलराम तिरुवाले समयमै हिउँदे वर्षा नहुँदा खेत बाँझै छोड्नुपरेको बताए । सिँचाइको सुविधा नभएका ठाउँमा हिउँदको समयमा खेत बाँझै छोड्नुपर्ने बाध्यता यहाँका किसानलाई छ । पञ्चेश्वरको वडा नं १, २, ३, ४ र ६ मा अधिकँंश खेत बाँझै रहेका पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले जानकारी दिए ।

यसैगरी, शिवनाथ गाउँपालिकाका अधिकांश खेतहरु पनि सिँचाइको अभावमा बाँझै रहेका गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले जानकारी दिए । गाउँपालिकाका उच्च भू–भागमा सिँचाइ हुँदैन । बैतडीमा १५ हजार हेक्टर खेतीयोग्य जमीनमा सिँचाइ सुविधा छैन । यो खेतीयोग्य जमीनको आधा हिस्सा हो । हिउँदमा खेतीपाती नहुँदा स्थानीय बासिन्दा रोजगारीका लागि भारत पस्छन् । सिँचाइ सुविधा नभएर अधिकाँश किसानलाई आकाशे पानीको भर पर्नुपर्ने अवस्था छ ।

भिरालो जमीनमा ओसिलोपन नभएर लगाइएका सबै अन्नबाली सुक्ने भएकाले हिउँदमा किसानका खेतबारी बाँझै रहने गरेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दले बताए। केहीले व्यक्तिगत रुपमा पाइप खरिद गरी सिँचाइ गरे पनि अधिकाँश किसानका खेतबारी सिञ्चन हुँदैन । आकाशे पानीको भरमा खेती गर्दा बीऊ नै नउम्रिने हुन्छ । सिँचाइ सुविधा भएका ठाउँमा किसानले बर्खेबाली र हिउँदेबालीका साथै बेमौसमी तरकारीबालीसमेत लगाउने गरेका छन् । खेतीयोग्य जमीन पर्याप्त भए पनि सिँचाइको अभावमा बाँझै राख्नुपर्ने बाध्यतामा यहाँका किसान छन् ।

सिँचाइ हुन नसक्ने ठाउँमा खडेरीले प्रभाव पार्ने गरेको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। जिल्लामा २५ हजार ५०० हेक्टर खेतीयोग्य जमीन भए पनि त्यसमध्ये १० हजार हेक्टर जतिमा मात्रै सिँचाइको सुविधा भएको उनले बताए । खडेरीका कारण उत्पादन कम भएपछि तराईबाट खाद्यान्न आयात गर्नुपर्छ जिल्लावासीलाई ।

विकल्पमा फलफूल खेती

खडेरीले खेत बाँझै हुने समस्यासँग जुझ्न यहाँका किसानले विकल्पमा फलफूल खेती गर्न थालेका छन् । पञ्चेश्वर गाउँपालिकाले किसानलाई फलफूलका बिरुवा वितरण गर्न थालेको छ । किसानलाई फलफूलबाट आत्मनिर्भर बनाउन प्रतिकिसान २० बिरुवाका दरले हिउँदे फलफूलका बिरुवा वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष चन्दले बताए ।

ओखर, आरुबखडा, आरु लगायतका १० हजार बिरुवा वितरण गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ । फलफूल खेतीबाट तत्कालै फाइदा लिन नसकिए पनि दीर्घकालमा फाइदा हुने भएकाले आफूहरुले निःशुल्क फलफूलका बिरुवा वितरण गर्न थालेको उनले बताए । वर्षात्को समयमा बर्खे फलफूलका बिरुवा वितरण गर्ने गाउँपालिकाले जनाएको छ ।

व्यावसायिक रुपमा फलफूल खेती गर्न सके किसानहरु आत्मनिर्भर बन्ने सुख्खा फलफूल विकास केन्द्र सतबाँझका निमित्त प्रमुख चन्द्रबहादुर ठगुन्ना बताउँछन् ।

बादर आतङ्क पनि समस्या

बैतडी सदरमुकाम क्षेत्रमा केही वर्षदेखि बाँदरले आतङ्क फैलाउँदै आएको छ । दशरथचन्द नगरपालिकाको वडा नं ४, ५, ६, ७ र ८ मा बाँदरले आतङ्क फैलाएको स्थानीयवासी बताउँछन् ।

दशरथचन्द नगरपालिका वडा नं ५ का वडाध्यक्ष नारायणप्रसाद भट्ट बाँदर आतङ्ककै कारण स्थानीय बासिन्दा बसाइँ सर्न बाध्य भएको बताउँछन् । खेतमा लगाइएका बाली र फलेका फल मात्रै होइन पकाइएको खाना र अन्य सामान समेत बाँदरले लग्ने गर्दा नागरिक आजित छन् ।

दशरथचन्द नपा–८ त्रिपुराका हिम्मत चन्दले बाँदर आतङ्कले गर्दा स्थानीय बासिन्दाले खेतीपाती गर्न छोडेका बताउँछन्। वडा नं ५ का स्थानीयवासी डम्बर टमाटाले भन्नुभयो – “घरको एकजना दिनभरि घरमा बाँदर धपाउन कुरुवा बस्नुपर्छ ।”

समूहमा आउने बाँदरले यो याममा लाखौं रुपियाँको सुन्तला, मौसम, अमिलो फल्ने यी क्षेत्रमा अहिले एकदाना पनि बाँकी नराखेको स्थानीय बासिन्दाले बताएका छन् ।

बाँदर नियन्त्रणका लागि दशरथचन्द नगरपालिका वडा नं ५ ले गतवर्ष डेढलाख बजेट समेत विनियोजन गरेको थियो । बाँदर विशेषज्ञ ल्याएर बाँदर धपाउने काम गरिए पनि फेरि गाउँमै बाँदर फर्केर आएका वडाध्यक्ष नारायण प्रसाद भट्टले बताए । नगरपालिकाले तयार पारेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतङ्क पहिलो प्रकोपको रुपमा स्तरीकरण गरिएको छ ।

भारतको काशी तथा वाराणसीबाट ट्रक ल्याएर महाकाली नदीमा बाँदर छाडिएको र त्यसपछि जिल्ला सदरमुकाममा विस्तारै बाँदर आतङ्क बढेको स्थानीय बासिन्दाको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement