पाँच महीनामै ३४ अर्बको खाद्य पदार्थ आयात, मसिनो र बास्नादार चामल खोज्ने बढे

Advertisement

काठमाडौं । कृषि गणना २०६८ अनुसार नेपालमा ७३ दशमलव नौ प्रतिशत जनता कृषि कर्ममा संलग्न छन् । सरकारले लामो समयदेखि नेपाललाई कृषि प्रधान देशका रूपमा चित्रण गर्दै सोहीअनुसारको व्यवहार गर्दै आएको छ तर चालू आर्थिक वर्षको पाँच महीनामा मात्रै चामल, मकै, भटमास, स्याउजस्ता खाद्य पदार्थको आयात ३४ अर्ब २१ करोड रुपियाँ बराबरको भएको छ ।

कृषि पेशामा संलग्न हुनसक्ने युवा जनशक्ति वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । स्वदेशमा नै रहेका युवासमेत शहरी तथा सुगम क्षेत्रमा रहँदा ग्रामीण तथा तराईका खेतीयोग्य जमीन बाँझो बन्दै गएको छ ।

आव २०७४/७५ मा मात्रै ७३ अर्ब १६ करोड रुपियाँ बराबरको चामल, मकै, स्याउ, भटमास, आलु आयात भयो । चालू आवको पाँच महीनामा १३ अर्ब ५८ करोड रुपियाँ बराबरको चामल आयात भयो । आव २०७४/७५ मा २९ अर्ब ५३ करोड रुपियाँको चामल आयात हुँदा आव २०७३/७४ मा २३ अर्ब ८७ करोड रुपियाँको आयात भएको थियो । मसिनो र बास्नादार चामलको माग बढ्दा चामलको आयात बढेको स्वयम् सरकारकै भनाइ छ ।

अर्को तथ्याङ्क पनि छ । नेपालका प्रमुख बालीमध्ये मकै एक हो तर चालू आवको पाँच महीनामा पाँच अर्ब १९ करोड रुपियाँको मकै आयात भयो । आव २०७४/७५ मा १२ अर्ब ५५ करोड रुपियाँ र आव २०७३/७४ मा १० अर्ब ६३ करोड रुपियाँको मकै आयात भयो । हरेक वर्ष चामल र मकैको आयात बढिरहेको छ । विप्रेषणबाट प्राप्त भएको ठूलो परिमाणको रकम खाद्यान्नको खरीदका लागि खर्च हुने गरेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्तुत गरेको तथ्याङ्कलाई नै आधार मान्ने हो भने चालू आवको पाँच महीनामा सात अर्ब पाँच करोड रुपियाँको भटमास आयात भएको छ । आव २०७४/७५ मा १८ अर्ब १५ करोड रुपियाँ र आव २०७३/७४ मा १६ अर्ब ९७ करोड रुपियाँ बराबरको भटमास र भटमासको तेल आयात भएको छ ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार नेपालका करीब ४५ लाख युवा वैदेशिक रोजगारीमा छन् । उनीहरुले वार्षिक नेपालमा पठाएको ठूलो परिमाणको विप्रेषण अनुत्पादक क्षेत्रमा खर्च भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७४/७५ मा सात खर्ब ५५ अर्ब छ करोड रुपियाँ विप्रेषण आप्रवाह भएको थियो । चालू आवको दोस्रो त्रैमाससम्ममा चार खर्ब ४३ अर्ब ३६ करोड रुपियाँ विप्रेषण आप्रवाह भएको छ ।

चालु आवको पाँच महीनामा मात्रै रु तीन अर्ब ९९ करोडको आलु आयात भएको छ । चिप्स प्रयोजनका लागि आलुको आयात बढिरहेको छ । नेपालमा चिप्सका लागि आलु खासै उत्पादन गरिँदैन । आव २०७४/७५ मा रु छ अर्ब ३५ करोड र आव २०७३/७४ मा पाँच अर्ब ५२ करोड रुपियाँको आलु आयात भएको छ ।

यस्तै चालु आवको पाँच महीनामा दुई अर्ब ५६ करोड रुपियाँको स्याउ आयात भएको छ । आव २०७४/७५ मा पाँच अर्ब ६३ करोड रुपियाँ र आव २०७३/७४ मा चार अर्ब ८७ करोड रुपियाँको स्याउ आयात भएको थियो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार कृषिउपज आयात ठूलो मात्रामा भइरहेको छ ।

मसिना र बास्नादार चामल खोज्ने बढे

कृषि विकास मन्त्रालयले आयात किन बढ्यो त रु भन्ने प्रश्नको उत्तरमा प्रतिवेदनमा उल्लेख गरेको छ, “जनसङ्ख्यामा वृद्धि र मानिसको प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिसँगै मसिना र बास्नादार चामलको माग बढ्दै गएकाले चामलको आयात बढ्दो देखिएको हो ।”

कुखुरा र पशुपक्षी पाल्ने कृषकको सङ्ख्या बढेको भन्दै पशुपालन र पोल्ट्री व्यवसाय फष्टाउँदै गएको र त्यसका लागि आवश्यक दाना प्रयोजनका लागि विशेष गरी मकै र भटमासको पिना आयात अधिक रहेको छ । तरकारीतर्फ मुख्यगरी आलु र प्याजको अत्यधिक आयात देखिएको भएता पनि अन्य ताजा तरकारीको लगभग व्यापार सन्तुलनको अवस्थामा रहेको मन्त्रालयको भनाइ छ ।

Advertisement

Advertisement

Advertisement