धेरै दुःख दिए सञ्चय कोषमै गएर भोक हडताल गर्ने काठमाडौं मलका व्यापारीहरुको चेतावनी

Advertisement

काठमाडौं । कर्मचारी सञ्चय कोषको सुन्धारास्थित काठमाडौं मलमा व्यवसाय गरिरहेका तीनसय व्यवसायीहरुले आफूहरुको अबौं रुपियाँ जोखिम हुनेगरी कोषले २१ दिनभित्र ठाउँ खाली गर्न सुचना निकालेकोप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले काठमाडौं मललाई अझ प्रख्यात बनाउन व्यवसायीहरुको महत्वपूर्ण योगदान रहेको भन्दै व्यापारीहरुको अबौं रुपियाँ जोखिम हुनेगरी कोषले एकपक्षीयरुपमा ठाउँ खाली गर्न सुचना जारी गरेकोप्रति आपत्ति जनाएका हुन् ।

मंगलबार काठमाडौं मल व्यापार संघले पत्रकार सम्मेलन गरी यस व्यापारिक कम्प्लेक्समा कोषको स्पष्ट नीतिको अभावले व्यापारीहरुले भन्दा बिचौलियाहरुले नाफा लिने अवस्था बन्दै आएको अवस्थामा आफूहरुको ठूलो लगानीलाई बेवास्ता गर्दै कोषले सुचना निकाले गुनासो गरे ।

पत्रकार सम्मेलनमा संघकी अध्यक्ष सुषमा महराले विचौलिया जन्माउने काम कर्मचारी संचय कोषले गरेको बताउँदै व्यवसायीहरुलाई ढुक्कसँग व्यवसाय गर्ने वातावरण बनाउनुपर्नेमा उल्टै अस्थिरता सिर्जना गरेर त्रसित बनाउने काम गरिएको बताइन् ।

काठमाडौं मलको भवनमा सधै दादागिरी गर्ने गरिएको र यसपटक भने कर्मचारी संचय कोषको दादागिरी देखिएको बताइन् । महराले मल सञ्चालनका लागि सञ्चय कोषले स्पष्ट नीति नलिँदा सधैं अन्योलको अवस्था सिर्जना हुने गरेको बताइन् । विकल्प वा व्यवसाय पुर्नव्यवस्थापनलाई ध्यान नै नदिई २१ दिनभित्र पसल खाली गर भन्नु न्यायसँगत नभएको बताउँदै उनले ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने बताइन् ।

काठमार्डौं मलमा बिगत १४ वर्षदेखि व्यवसाय गर्दै आएका व्यवसायीहरुले अन्य मलका व्यापारीहरुले जसरी ढुक्कसँग व्यापार गर्ने अवस्था कहिल्यै नपाएको गुनासो पोखे । यसको मुख्य कारण नै कोषको स्पष्ट नीति र गलत नियत भएको उनीहरुको भनाई छ । आफूहरुले व्यापार मात्रै नगरेर सेवा पनि गरेको तर कोषले आजसम्म आफूहरुले कष्ट झेल्दै गरेको व्यापारप्रति बेवास्ता गर्दै दुःख दिने काम गरेको बताउँछन् ।

ठूलो लगानी गरेर व्यापार गरिरहेका आफूहरुलाई कोषले सडकमा ल्याउन खोजेको व्यवासायीहरुको आरोप छ । महराले भनिन, ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकेदार छानेपछि समस्या आउनु स्वाभाविक हो । त्यसको मार हामीलाई समेत पर्ने गरेको छ ।’ काठमाडौं मलको ठेक्का प्रक्रिया पनि पारदर्शी नभएको, ठेक्का पाउन धेरै रकम बोलकबोल गर्ने र त्यो रकम अशुल्न आफूहरुसँग मनलाग्दी भाडा अशुल्ने गरिएको व्यवसायीको गुनासो छ ।

संघका सल्लाहकार उज्वलजंग शाहीले कोषका कर्मचारीले दुई महिना बितिसक्दा पनि भाडा निर्धारण गर्न नसकेको र मलमा कहिले कर कार्यालयको अफिस राख्ने त कहिले सबै भवनमा नगरपालिकाको कार्यालय सञ्चालन गर्न दिने भन्दै त्रसित बनाउने काम गरिँदै आएको बताए । यो समस्या समाधान नभए व्यवसायीहरुले संचय कोषमा गएर भोकहडताल गर्ने चेतावनीसमेत दिए ।

Advertisement

Advertisement

Advertisement