भारत-पाक तनाब बढ्दा नेपालमा उच्च सुरक्षा सर्तकता

Advertisement

काठमाडौं । भारतीय वायुसेनाले मंगलबार पाकिस्तानमा बम प्रहार गरे लगत्तै दुबै मुलुकबीच विकसित भएको तनावपछि नेपालले पनि उच्च सुरक्षा सर्तकता अपनाएको छ ।

एक अर्को मुलुकविरुद्ध नेपालको भूमि प्रयोग हुन सक्ने ठहर गर्दै सुरक्षा निकायले सुरक्षा निगरानी बढाएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आन्तरिक विमानस्थल र नेपाल–भारत सीमावर्ती क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको गृह मन्त्रालयले जनाएको छ ।

दुई देशबीच तनाव भएपछि नेपालको भूमी प्रयोग गरी कुनै अबाञ्छित गतिविधि नहोस् विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाएको त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा कार्यालयका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) देवबहादुर बोगटीले जानकारी दिए । ‘नेपाल हुँदै भारत र ओहोर–दोहोर गर्ने विमान र यात्रु माथि निगरानी बढाइएको छ, शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गर्ने काम पनि भइरहेको छ’–उनले भने।

साथै नेपाल हुँदै खाडी मुलुक जाने–आउने विमानका यात्रु र यात्रुका ‘लगेज’ माथि पनि निगरानी बढाइएको बताउँदै एसएसपी बोगटीले भन्नुभयो–‘ कुनै अबाञ्छित व्यक्ति र समुहको घुसपैठको संभावना हुन नदिन सुरक्षा निकाय ‘अलर्ट’ बनेको छ ।’ यसका लागि प्रहरीसँग उपलब्ध सबै स्रोत साधन परिचालन गरिएको उनले बताए ।

भारतले मंगलबार बिहान सबेरै लडाकु विमानमार्फत पाकिस्तान नियन्त्रित कास्मिरको बालाकोट क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै मुलुकले सुरक्षा रणनीति बढाएका छन् । शक्तिशाली विस्फोटमा ३ सय भन्दा बढी आतंककारी मारिएको भारतीय पक्षको दावी छ भने भारतीय आक्रमणको पुष्टी गरेको पाकिस्तानले पनि मानवीय क्षति नभएको दावी गरेको छ ।

भारतीय विदेश सचिव विजय गोलखेले गत फेबु्रअरी १४ मा कास्मिरको पुलवामा भएको आत्मघाती हमला भएजस्तै घटना फेरी दोहोरिन सक्ने पूर्व सूचनाका आधारमा मंगलबारको हमला गरेको बताउनु भएको छ । बालाकोटमा भारतीय दावी अनुसार मानवीय क्षती नभएको भन्दै पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेशीले खण्डन गरेका छन् ।

भारत–पाकिस्तानबीच केही दिन अघिदेखि नै खटपटी सुरु भएपछि सुरक्षा निकायले काठमाडौंसहित अन्यत्र निगरानी बढाउन थालेको प्रहरीका उच्च अधिकारी बताउँछन् ।

सोमबारदेखि भारतीय, पाकिस्तानी र बंगाली नागरिक माथि निगरानी राख्दै शंकास्पदलाई सोधपुछ गर्ने क्रम शुरु भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले बताए । ‘सोमबार केही शंकास्पद व्यक्ति पक्राउ परेका छन्, मंगलबारदेखि झनै सुरक्षा सर्तकता बढाइएको छ, उनले भने– ‘काठमाडौं बाहिरका सीमावर्ती क्षेत्रमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ ।’
तर सरकारले भने यस बारेमा मंगलबार अबेर सम्म आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।

यसै वीच राष्ट्रिय जनता पार्टी (राजपा) निकटका विद्यार्थी र युवा समुहले भारतले पाकिस्तान विरुद्ध गरेको हमलाको समर्थन गर्दै प्रर्दशन गरेका छन् ।

आतंकवाद विरुद्ध एक होऔ भन्ने आशयका साथ मंगलबार दिउँसो विरगञ्जमा विरोध प्रर्दशन भएको हो । विरगञ्जस्थित भारतीय वाणिज्य दूतावास आसपासबाट मोटरसाइल ¥याली सहितको प्रर्दशनमा राजपा महासचिव राजेशमान सिंह लगायत पार्टीका अन्य नेता सहभागी थिए । सोमबार पनि काठमाडौंस्थित पाकिस्तानी दूतावास परिसर अगाडी प्रर्दशन भएको थियो ।
नेपाल समाचारपत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement