मन्त्रिपरिषदको निर्णयः शोकमा बिहीबार सार्वजनिक विदा, दुर्घटना जाँचबुझ गर्न समिति गठन

baluwatar_party

काठमाडौं । मन्त्रिपरिषद्‍को आकस्मिक बैठकले पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको निधनप्रति शोक मनाउन बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । बैठकले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गर्दै बिहीबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

साथै, बैठकले मन्त्री अधिकारीको शव काठमाडौं ल्याएपछि उनको राजकीय सम्मानका साथ अन्त्यष्टि गरिने निर्णय पनि गरेको छ । मन्त्री अधिकारीसहित सात जना सवार हेलिकप्टर दुर्घटना भई सबैको मृत्युको खबर आएपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएका थिए ।

बैठकले ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनाको छानबिनका लागि चार सदस्यीय समिति गठन गरेको छ । दुर्घटनाको जाँचबुझ गरी सुझावसहितको प्रदिवेदन पेश गर्ने गरी नेपाल सरकारका पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा नेपाली सेनाका सहायक रथी दीपक बास्तोला, अवकाश प्राप्त महासेनानी प्रमोद लामा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको समिति बनाइएको हो ।