पुजारीसँग 'पाथीभरका लागि धेरै काम गर्नुछ' भन्दै निस्किएका अधिकारी एकैछिनमा बिलिन भए

Advertisement

ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको एमआई एयरबस हेलिकोप्टर बुधबार दिउँसो १२ बजेर ५५ मिनेटमा ताप्लेजुङको पाथिभरा मन्दिर नजिकै अवतरण गर्‍यो ।

तेह्रथुमको आठराई चुहानडाँडास्थित एयरपोर्ट निर्माणस्थलको अवलकोनपछि मन्त्री अधिकारीसहितको टोली पाथिभरा दर्शनका लागि त्यहाँबाट ताप्लेजुङ पुगेको थियो । मन्त्रीसहितको सरकारी टोली हेलिकोप्टरबाट झर्दा पाथीभर मन्दिर क्षेत्रमा बाक्लो हिमपात भइरहेको थियो ।

हिउँ पर्दा पर्दै मन्त्री अधिकारीसहितले पाथिभरा मन्दिरको दर्शन र पूजा पनि गरे । पाथिभरा मन्दिरका मुख्य पुजारी डिल्ली आचार्यका अनुसार मन्त्री अधिकारीले दर्शन गरिसकेपछि हिउँ पर्ने क्रम झनै बढेको थियो ।

त्यसपछि मन्त्री अधिकारी र हेलिकोप्टरका पाइलटसहित सबैजना पुजारीकै निवासमा आगो तापेर बसे । ‘हिउँ धेरै परेकाले मन्त्रीज्यूसहितलाई मैले नै आगो तापेर बसौँ भने,’ पूजारी आचार्यले भने, ‘मन्त्रीज्यू आउने खबर प्रहरीबाट थाहा पाएकाले पूजा सामाग्रीसहित तयारी गरिसकेको थिएँ, हिउँ परेकाले आगो पनि बालेको थिएँ ।’

पूजा सकेपछि हिउँ झनै बाक्लो पर्न थालेपछि मन्त्री अधिकारीले नै पूजारीको निवासमै गएर आगो तापौँ भनेका थिए । ‘हिउँ बाक्लो पर्न थालेपछि मन्त्रीज्यूले मेरै निवासमा गएर आगो तापौँ भन्नुभयो’, पुजारी आचार्यले भने, ‘त्यसपछि उहाँले मलाई चिया पकाउन भन्नुभयो ।’

हिउँ बाक्लै पर्ने क्रम जारी रहेपछि मन्त्री अधिकारीले पूजारी आचार्यलाई भनेका थिए, ‘तपाईँले मिठो चिया पकाउनुहुन्छ, लौ त आगो ताप्दै चिया पनि पिऊँ ।’ तर त्यहीबीचमा हिउँ पर्दा पर्दै मौसम खुले जस्तो भयो । ‘मौसम एकछिन खुले जस्तो भएपछि प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहालले अब जानुपर्छ भन्नुभयो’, पूजारी आचार्यले भने, ‘त्यसपछि सबैजना उम्लिँदै गरेको चिया नखाइ हेलिकोप्टरमा जानुभयो ।’

मन्त्री अधिकारीसँगै रहेका एकजनाले फुङ्लिङ बजारमा फोन गरेर मौसमको अवस्था सोधेका थिए । फुङ्लिङबाट पाथिभरा देखिने भएकाले उनले मौसम खुले नखुलेको सोधेका थिए । फुङ्लिङबाट फोनमा बोल्नेले, ‘कुहिरो बाक्लो छैन, मौसम खुल्दैछ’ भन्ने जवाफ दिएका थिए ।

पुजारी आचार्यले मन्त्री अधिकारीसहित सबै सबैजलाई हेलिकोप्टरम पुगेर चिया दिएका थिए । सबैले चिया पिएपछि हेलिकोप्टर दिउँसो १ बजेर २५ मिनेटमा काठमाडौँका लागि उडेको थियो ।

आफूसँग मुस्काउँदै कुरा गरेका मन्त्री दुर्घटनामा परेको खबर पाएपछि पूजारी आचार्य पनि स्तब्ध छन् । ‘हेलिकोप्टरमा जानुअघि आगो ताप्दै मन्त्रीज्यूले पाथीभरका लागि धेरै काम गर्नुछ भन्नु भएको थियो, उहाँले मलाई ढुक्क बनाउँदै हामी पाथीभरका लागि अझै केही गर्छौँ भनेर आश्वस्त पार्नुभयो’, पुजारी आचार्यले भने, ‘तर उहाँले मुस्काउँदै दिएका ती बाचा केही मिनेटमै दुर्घटनामा परेको हेलिकोप्टरसँगै बिलिन भए ।’
अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement