रविन्द्रलाई योगेश भट्टराई यसरी सम्झिन्छन्

Advertisement

काठमाडौँ । व्यापक सम्भावना बोकेको मुलुककै लोकप्रिय नेता रवीन्द्रप्रसाद अधिकारीको ४९ वर्षको उमेरमा दुःखद् निधन भयो । ४९ वर्ष पार गर्दा ३०।३१ वर्ष झण्डै दुई तिहाइ समय उहाँ र मैले सँगै बितायौं । २०४५ सालमा कीर्तिपुरस्थित त्रिवि होस्टेलमा उहाँ र मेरो पहिलो भेट भएको थियो । त्यो बेलादेखि आज उप्रान्त राजनीतिक जीवनमा हामीसँगै रह्यौँ । त्यस बेलादेखि आजसम्मको यात्रामा रवीन्द्र अधिकारी आशालाग्दो, भरोसायोग्य, मिलनसार, जनप्रिय, सरल स्वभावका हुनुहुन्थ्यो ।

उहाँमा पर्याप्त राजनीतिक चेतना र ज्ञान पनि थियो । जनतासँग मात्र नभएर आफ्ना प्रतिस्पर्धी राजनीतिक व्यक्ति र शक्तिहरूसँग मिलेर काम गर्ने एउटा विशिष्ट विशेषता पनि थियो ।

व्यापारिक, व्यावसायिक र पर्यटकीय हिसाबले अन्तर्राष्ट्रिय रुपमा प्रख्यात पोखराजस्तो शहरबाट लगातार तीन तीन पटक संसदमा जितेर आउनु त्यति सहज कुरा थिएन । जुन कुरा रवीन्द्र अधिकारीले सम्भव तुल्याउनुभयो ।

यसले उहाँ समाजका सबै वर्ग, पेसा र समुदायका व्यक्तिसँग सहज ढङ्गले सम्बन्ध विस्तार गर्न सक्नुहुन्थ्यो भन्ने देखाउँछ ।
उहाँ देशभक्तिपूर्ण भावनाले ओतप्रोत व्यक्ति हुनुहुन्थ्यो । जहिले पनि मुलुकको राष्ट्रिय एकता र सार्वभौमसत्ताकोे पक्षमा उभिनुभयो । संसद बाहिर र संसदभित्र उहाँले त्यो भूमिका खेल्नुभयो । उहाँले विद्यार्थी नेता हुँदा नेपालमाथि भएका विदेशी हस्तक्षेपविरुद्ध आवाज उठाउनुभयो ।

रवीन्द्रजीले नेपाली सीमा मिचिएको कुरालाई राष्ट्रिय मुद्दा बनाउनुभयो र आफूलाई एउटा देशभक्त राजनीतिज्ञको रुपमा स्थापित गराउनुभयो ।

उहाँ गुरुङ समुदायको बाहुल्यता भएको निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो । त्यो समुदायभित्र पनि उहाँ त्यतिकै लोकप्रिय हुनुहुन्थ्यो । गुरुङ समुदायले पनि उहाँलाई आफ्नै समुदायको जस्तो ठान्थ्यो किनकि गुरुङ समुदायको सँस्कृति, चालचलनलाई प्रोत्साहन गर्न उहाँले जनप्रतिनिधिको हिसाबले भूमिका खेल्नुभयो र त्यो समुदायले उहाँलाई आफ्नै समुदायजस्तै ठानेको थियो ।

रवीन्द्रजीले आफ्नो बहुआयामिक व्यक्तित्व निर्माण गर्नुभयो । सांसदको हिसाबले हेर्ने हो भने उहाँ एकजना सफल विधायक हो । पहिलो र दोस्रो संविधानसभामा संविधान निर्माणको निम्ति अन्तिम बेलासम्म उहाँले भूमिका खेल्नुभयो । पार्टीभित्र उहाँसँग कुनै ठूलो पद थिएन तर संसदभित्र पार्टीका ठूला नेतासँग पनि संवाद गर्दै संविधान निर्माणमा समन्वयकारी भूमिका खेलेको हामीले देखेका छौँ । व्यवस्थापिका संसदमा जनचासोका मुद्दा उठाउने, विकासका विषय उठाउने, राजनीतिक विकृति र विसङ्गतिविरुद्ध आवाज उठाउने काम उहाँले गर्नुभयो । यहाँसम्म कि अरु दलका साथीसँग समेत मिलेर ध्यानाकर्षण प्रस्ताव संसदमा ल्याउनेजस्ता काम समेत उहाँले गर्नुभयो । अघिल्लो संसदमा विकास समितिको सभापतिको रुपमा उहाँले आफूलाई राष्ट्रिय चर्चामा ल्याउनुभयो ।

अहिले पर्यटनमन्त्रीको रुपमा पनि लुम्बिनी विमानस्थल, पोखरा विमानस्थल, काठमाडौँ-निजगढ दु्रतमार्ग, निजगढ विमानस्थललगायतमा उहाँको महत्वपूर्ण भूमिका छ । काठमाडौँको अन्तर्राष्ट्रिय विमानस्थललाई दिनको २१ घण्टासम्म चलाएर मुलुकको पर्यटन व्यवसाय तथा नेपाल र विदेशको बीचमा ‘कनेक्टिभिटी’ मा उहाँले ठूलो योगदान पुर्याउनुभएको छ ।

उहाँले देशभरका एक सय पर्यटकीय स्थललाई पर्यटन गन्तव्यको रुपमा घोषणा गराउनुभयो । सन् २०२० लाई पर्यटन वर्षको रुपमा घोषणा गरेर २० लाख पर्यटक नेपाल भित्र्याउने अभियानमा लाग्नुभयो ।

दुर्घटना हुनुको अघिल्लो दिन पनि ताप्लेजुङको सुकेटार विमानस्थलको स्तरोन्नति गर्ने विषयमा उहाँसँग मेरो छलफल भएको थियो । भोलिपल्ट ४ः३० बजे उहाँसँग भेट्ने कुरा थियो तर त्यो ४ः३० बजे कहिल्यै नआउने भयो ।

पार्टीभित्रका अन्तरविरोध र समस्यालाई चर्काउनेभन्दा पनि साम्य पार्ने तथा समन्वय गर्ने भूमिकामा उहाँले आफूलाई अगाडि बढाउनुभयो । पार्टीलाई एकताबद्ध गर्ने काममा पनि उहाँको भूमिका छ । सबै नेतासँग समदूरीको सम्बन्ध स्थापित गर्ने विशेषता उहाँमा थियो ।
हामीले उहाँबाट सरल र सहज व्यवहार, जनप्रियता, विकास र राजनीतिको समन्वय लगायतका धेरै कुरा सिक्नुपर्छ ।

अहिलेका नेता कहिले विकासलाई बिर्सन्छन् त कहिले राजनीतिलाई तर उहाँले विकास र राजनीतिलाई एकै ठाउँमा राखेर बहस गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । विकास र राजनीति एक अर्काको परिपुरक हो भन्ने कुरालाई उहाँले स्थापित गर्नुभयो । नेपालको विकासमा चासो राख्ने देशभित्रका बौद्धिक र अन्तर्राष्ट्रिय समुदायसम्म पनि उहाँले यो बहसलाई पुर्याउनुभयो । यो धेरै महत्वपूर्ण कुरा हो भन्ने मलाई लाग्दछ ।

विद्यार्थी आन्दोलनको हिसाबले उहाँ एक सफल विद्यार्थी नेता हुनुहुन्थ्यो । उहाँ आम विद्यार्थीको विश्वासका साथ अनेरास्ववियूको अध्यक्ष हुनुभयो । सार्वजनिक यातायातमा विद्यार्थीले ३३ प्रतिशत सहुलियत पाउनुपर्छ भन्ने कुरा उहाँले नै उठाउनुभएको हो । प्रवीण गुरुङको हत्याको सम्बन्धमा पारस शाहको संलग्नता छ भनेर देशभर हस्ताक्षर अभियान चलाउने लगायतका विषयमा उहाँले विद्यार्थी नेताको रुपमा नेतृत्व गर्नुभयो ।

अहिलेको सरकारको उहाँ एक गतिशील र लगनशील मन्त्रीको रुपमा मैले उहाँलाई देखेँ । मृत्युको केही क्षण अघिसम्म पनि उहाँ विमानस्थल निर्माण गर्ने योजनालाई सफल बनाउने अभियानमा हुनुहुन्थ्यो । तीन वर्षभित्र तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माण गरिसक्ने अभियानमा उहाँ लाग्नुभएको थियो । जुन धेरै पहिलादेखि छलफलमा आए पनि अगाडि बढ्न सकेको थिएन ।

उहाँको निधनले सिङ्गै देश र जनतालाई अपूरणीय क्षति भएको छ । हाम्रो पुस्ताको एउटा भरोसायुक्त, सम्भावनायुक्त लोकप्रिय नेता हामीले गुमाएका छौँ ।

गोरखापत्र दैनिकले भट्टराईसँग गरेको कुराकानी ।

Advertisement

Advertisement

Advertisement