किन ताप्लेजुङमा नै उच्चपदस्थहरु चढेको हेलिकप्टर बारम्बार दुर्घटना हुन्छ ?

Advertisement

ताप्लेजुङ । उच्च पदस्थ सरकारी अधिकारी चढेको विमान बारम्बार दुर्घटनामा परिरहँदा उडानका लागि ताप्लेजुङको आकाश नै असुरक्षित हो कि अरू कुनै कारण छन् भन्ने बहस सुरु भएको छ। बुधबार पाथीभरा मन्दिरभन्दा करिब डेढ किलोमिटर तल रहेको सिस्नेखोलाको शिरमा रहेको तारेभीरमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजना सवार हेलिकोप्टर दुर्घटनामा पर्यो। ताप्लेजुङमा यस्तै खालको करिब १३ वर्षअघि पनि भएको थियो। घटना दोहोरिएसँगै यसको कारण अनुमान लगाउनेहरूले अनेक बहस थालेका छन्।

लामो समय यहाँस्थित नेपाल वायु सेवा निगमको स्टेसन इन्चार्ज भएर काम गरी अहिले सेवानिवृत्त भएका हेमन्तकुमार उप्रेतीको भनाइमा जहाज दुर्घटनाका हिसाबले ताप्लेजुङको आकाश बिल्कुल दोषी छैन। ‘आकाश र भूगोललाई होइन, छिनछिनमा परिवर्तन भइरहने यहाँको मौसमलाई केही भन्न सकिएला,’ उप्रेतीले भने, ‘मौसमलाई चुनौती दिन प्रयास गरे दुर्घटनाको सम्भावना बलियो बन्छ।’ पहिले विराटनगर–ताप्लेजुङ–विराटनगर र यो सेवा कटौती भएपछि काठमाडौ–ताप्लेजुङ–काठमाडौं उडान हुने नेपाल वायु सेवा निगम र अन्य निजी विमान कम्पनीहरूका लागि सुकेटारमा नियमित उडान भर्न छिनछिनमा परिवर्तन हुने मौसमले चुनौती थपिदिनेबाहेक अन्य जोखिम मोल्नुनपरेको उप्रेतीले अनुभव सुनाए। उनको यो भनाइ हवाईजहाजका हकमा थियो। ‘खै, यत्रो लामो अवधि जहाजकै क्षेत्रमा काम गरियो, मौसमबाहेक अरू केही चुनौतीको महसुस गरिएन,’ उनले भने।

२०३८ सालमा गृह उपमन्त्री चन्द्रबहादुर पालुङ्वाको जहाज दुर्घटनामा र २०६३ सालमा पर्यटन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो भने अहिले पर्यटनमन्त्री अधिकारीसहित सात जनाको हेलिकोप्टर दुर्घटनामा मृत्यु भयो ।

पर्यटन व्यवसायी पिछोवाङ शेर्पा र ईश्वरी पौडेलले पनि ताप्लेजुङको आकाशलाई दोष दिनु राम्रो नहुने स्पष्ट पारे। उनीहरूले मौसमअघि कसैको केही नलाग्ने प्रतिक्रिया दिँदै खुला आकाश दुर्घटनाको कारण हुनै नसक्ने दाबी गरे। ‘ताप्लेजुङको आकाश सुरक्षित छ तर छिनछिनमा परिवर्तन हुने मौसमचाहिँ यहाँको समस्या होला,’ पर्यटन व्यवसायी पौडेलले भने। उप्रेतीले जस्तै उनले पनि मौसमलाई चुनौती नदिई सहजतालाई आँकलन गरे असुरक्षित हवाईयात्रा कम गर्न सकिने बताए। हिमाली र पहाडी क्षेत्रमा कहिले वजन, कहिले हावाहुरी र कहिले कुहिरो तथा बादलले हवाई यात्रामा नकारात्मक प्रभाव पार्ने पौडेलको भनाइ छ। जहाजमा आकस्मिक देखिने समस्या र जहाजले लिने गन्तव्य फरक पर्नाले पनि कहिलेकाँही उडान जोखिममा पर्ने शेर्पाको भनाइ छ। ‘तर आकाश आफैंमा उडानका लागि जोखिमपूर्ण हुँदैन,’ शेर्पाले भने।

बुधबारको जस्तै २०६३ असोज ७ गते ताप्लेजुङको फलेस्थित ढुंगे पहाडमा भएको दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको ज्यान गएको थियो। यो घटनामा पनि धेरैले हेलिकोप्टरले गन्तव्य गुमाएर घुन्साखोलालाई तमोरखोला भन्ने ठानेर अघि बढ्न खोज्दा बीचको पहरोमा ठोकिएर दुर्घटना भएको अनुमान गरेका थिए। उतिबेलाको घटनापछि उद्धार कार्यमा संलग्न भएका लेलेप सेकाथुमका ग्याबु शेर्पाको भनाइमा घुन्साबाट उडेको हेलिकोप्टर पाँच मिनेटपछि दुर्घटनमा परेको थियो। ‘उड्ने आकाश दोषी भएर दुर्घटना भएको थिएन, गलत दिशा लिएर उडेकाले र सही बाटो पहिल्याउन कुहिरो बाधक बनेकाले पहाडमा ठोकिएर दुर्घटना भएको मेरो ठम्याइ हो,’ शेर्पाले १३ वर्षअघिको दुर्घटना स्मरण गर्दै भने।

त्यतिबेला तत्कालीन वन राज्यमन्त्री राईसहित योजनाविद् हर्क गुरुङ, डब्लुडब्लुएफ नेपालका नेपाल प्रतिनिधि चन्द्रप्रसाद गुरुङ, वन सचिव दामोदर पराजुली, राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक नारायणप्रसाद पौडेल र पूर्वमहानिर्देशक तीर्थमान मास्के, वन विभागका महानिर्देशक शरद राई, संरक्षणविद्हरू मिङ्मानोर्बु शेर्पा, यशीछोदेन लामा, दावाछिरिङ शेर्पा, नेपाल उद्योग वाणिज्य महासंघका बहालवा केन्द्रीय सदस्य विजयकुमार श्रेष्ठ, नेपालका लागि फिनल्यान्डका राजदूत पाउली मुस्टोनेन, युएसएआइडीका उपमहानिर्देशक मार्गरेट अलेक्जेन्डर, बिनाज आचार्य, डब्लुडब्लुएफ युकेका जिल बोविङ र जेनिफर हेड्ली, म्याथ्यो प्रिस र नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिल सिंहसहितको निधन भएको थियो।

उच्चपदस्थ सरकारी अधिकारी गुमाएका यी दुई घटना मात्र चर्चामा छैनन्। पञ्चायतकालमा तत्कालीन गृह उपमन्त्री चन्द्रबहादुर पालुङ्वाको समेत जहाज दुर्घटनामा परी मृत्यु भएको थियो। चन्द्रबहादुरका भतिजा एवं फुङ्लिङ नगरपालिका–८ का वडाध्यक्ष पदमसुन्दर पालुङ्वाका अनुसार २०३८ कात्तिक भाइटीकाका दिन भएको दुर्घटना भने हेलिकोप्टर नभई हवाईजहाज थियो।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement