श्रद्धाञ्जलिका लागि शव टुँडिखेलमा, आफन्त भावविह्वल

Advertisement

काठमाडौं । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिन उनीहरुको शव टुँडिखेलमा ल्याइएको छ । बिहीबार शवहरुको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । हिजै दिवंगतलाई अन्तिम श्रद्धाञ्जली दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइले आज गरिएको हो ।

त्रिवि शिक्षण अस्पतालबाट शव यहाँ ल्याइएपछि श्रद्धाञ्जलिको कार्यक्रम शुरु भएको छ । श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड लागेको छ । टुँडिखेलमा पुगेका सबै शोकमा त थिए नै आफन्तजनको रोदनले वातावरण थप भावुक बन्यो । आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा हेलिकप्टर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो ।

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा उदयीमान नेता अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।

मन्त्री अधिकारीलगायत अन्य दिवंगतहरुलाई श्रद्धाञ्जली दिन बिहानैदेखि सर्वसाधारण टुँडिखेलमा भेला भएका छन् । श्रद्धाञ्जलीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत सर्वसाधारणहरु पनि उल्लेख्य उपस्थिति छ ।

Advertisement

Advertisement

Advertisement