रक्सौल–काठमाडौं रेलमार्गका लागि दुईवटा मार्ग प्रस्ताव, दुईको लम्बाईमा ५० किमी फरक

Advertisement

काठमाडौं । राजधानी काठमाडौँलाई भारतीय सीमावर्ती सहर रक्सौलसँग रेलमार्गले जोड्न प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गको पूर्वसम्भाव्यता अध्ययनले दुईवटा मार्ग प्रस्ताव गरेको छ । भारतको कोकर्ण रेल्वे कर्पोरेसनले यस्तो प्रस्ताव गरेको हो ।

रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वसम्भाव्यता अध्ययन गरिएको कर्पोरेसनले रक्सौल—काठमाडौँका लागि विकल्पसहित दुईवटा मार्ग प्रस्ताव गरेको छ । कोकर्ण रेल्वे कर्पोरेसनले दुईवटा ‘एलाइन्टमेन्ट’ रेल विभाग समक्ष प्रस्ताव गरेको आएको बताउँदै ती दुई मार्गको दुरी पनि फरक फरक रहेको जानकारी दिए ।

अध्ययन अनुसार एउटा मार्ग छोटो छ भने अर्को मार्ग अलि लामो छ । छोटो दुरी १४० किलोमिटर छ भने लामो दुरी १९० किलोमिटर प्रस्ताव गरिएको छ । मिश्रले भने, ‘‘यी दुवै ‘एलाइनमेन्ट’ माथि अहिले छलफल भइरहेको छ, यसबारे नेपालको तर्फबाट टुङ्गो लगाएर दुईमध्ये एउटा प्रस्ताव ती कम्पनीलाई पठाइने छ ।”

प्रस्तावित छोटो दुरीको रेलमार्ग निर्माणका लागि चुनौतीपूर्ण रहेको छ । छोेटो दुरीमा उकालो र ओरालो बढी हुनसक्ने हुन्छ भने टनेलको निर्माण पनि आवश्यक हुनसक्छ । छोटो दुरीमा उच्च पुल धेरै मात्रामा निर्माण गर्नुपर्ने छ र त्यो अलि जोखिम पनि हुनसक्ने छ । ‘‘त्यसैले लामो दुरीको मार्ग नै उपयुक्त हुनसक्ने छ,’’ महानिर्देशक मिश्रले बताए ।

लामो दुरीको मार्ग समयको दृष्टिले यात्रा समय अलि बढी भए पनि जोखिम र निर्माण खर्चको हिसाबले छोटो दुरीको भन्दा बढी उपयुक्त हुनसक्ने उनले जानकारी दिए । यो रेलमार्ग बनाउँदा करिब २० प्रतिशत सुरुङ र पुल निर्माण गर्नुपर्ने अनुमान छ । उक्त रेलमार्ग स्ट्यान्डर्ड (एडभान्स) गेजमा निर्माण गर्न नेपालले भारत समक्ष प्रस्ताव गरेको जानकारी समेत महानिर्देशक मिश्रले जानकारी दिए ।

प्रस्तावित रेलमार्ग निर्माण प्रक्रियालाई अगाडि बढाउन यसअघि भदौ १५ गते नेपाल र भारतबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा दुवै देशका अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

त्यसैगरी, गत वर्षको चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको क्रममा ओली र भारतीय समक्षी नरेन्द्र मोदीबीच प्रस्तावित उक्त रक्सौल–काठमाडौँ विद्युतीय रेलमार्गको सर्भे गरेर मोडालिटी टुङग्याउने द्विपक्षीय सहमति भएको थियो । सहमतिपछि जारी संयुक्त वक्तव्यमा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिने उक्त रेलमार्गको प्रारम्भिक सर्वेक्षण एक वर्षभित्र पूरा गरिने जनाइएको थियो ।

नेपाल र भारतका सीमावर्ती क्षेत्र रक्सौल–वीरगञ्ज र जयनगर–जयनगर जोड्ने रेलमार्ग अहिले निर्माण सम्पन्न भएपनि भारतसँग राजधानी काठमाडौँ जोड्ने यो पहिलो रेलमार्ग हुनेछ । त्यसैगरी, प्रधानमन्त्री ओली र उनका समकक्षी मोदीबीच नेपाल र भारत सीमानाका पाँचवटा ठाउँलाई रेलमार्गबाट जोड्ने योजनालाई तीब्रता दिने सहमति समेत भएको थियो ।

जसअनुसार अहिले न्युजलपायुगुडी–काँकडभिट्टा, नौतन्वा–भैरहवा, नेपालगञ्जरोड–नेपालगञ्ज, जयनगर–बिजलपुरा–बर्दिवास र जोगवनी–विराटनगर रेल मार्ग निर्माण कार्यले तीब्रता पाएको छ ।

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement