चेक बाउन्सका मुद्दा बढ्दै

Advertisement

बाँके । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास अन्तर्गत दुई वर्षअघि गठन भएको वाणिज्य इजलासमा चेक बाउन्सका मुद्दा बढ्न थालेका छन् । वाणिज्य इजलासमा अहिलेसम्म जम्मा ५३ मुद्दा दर्ता भएको नेपालगञ्ज इजलासका रजिष्ट्रार हिरण्यप्रसाद भण्डारीले जानकारी दिनुभयो । तीमध्ये दुई बैंकिङ कसुरका र अन्य सबै चेक बाउन्सका मुद्दा हुन् ।

चेक बाउन्स भएको भन्दै बैंकिङ कसूरअन्तर्गत मुद्दा दर्ता हुने गरेको उच्च अदालत नेपालगञ्ज इजलासका रजिष्ट्रार भण्डारीले बताए । “एक वर्षयता बैंकिङ कसूरअन्तर्गतका मुद्दा दर्ता हुने क्रम बढेको छ”, उनले भने, “कतिपय मुद्दा अहिले पनि विचाराधीन अवस्थामा छन् ।” उहाँकाअनुसार दर्ता भएका मुद्दामध्ये पाँच फैसला भइसकेका छन् ।

मुद्दामा प्रतिवादीले चेक काटेर दिएको तर, चेक साट्न बैंकमा जाँदा रकम नभएको मुद्दा वाणिज्य इजलासमा परेका छन् । विसं २०७४ पुस १३ मा मन्त्रिपरिषद्को बैठकले उच्च अदालत तुलसीपुरअन्तर्गतको नेपालगञ्ज इजलासमा वाणिज्य इजलास गठन गर्ने निर्णय गरेको थियो ।

विसं २०७४ माघ १ गतेदेखि लागू हुने गरी कम्पनी ऐन २०६३, सुरक्षित कारोवार ऐन २०६३, दामासाहीसम्बन्धी ऐन २०६३ तथा प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन २०६३ बमोजिमका मुद्दाको कारवाही र किनारा गर्न प्रादेशिक क्षेत्राधिकार रहने गरी उक्त अधिकार सर्वोच्च अदालतले उच्च अदालतलाई प्रदान गरेको रजिष्टार भण्डारीले बताए ।

उच्च अदालत नियमावली, २०७३ को नियम ६६ बमोजिम इजलास वा अस्थायी इजलास गठन गरेर प्रदेशभरिकै मुद्दाको किनारा गर्न भनिएको थियो । उसो त प्रदेशका सबै जिल्लाको मुद्दा दर्ता गरेर न्याय निरुपण गर्ने क्षेत्राधिकार रहेको छ । बैंकिङ कसूर ऐनअन्तर्गतका मुद्दा सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरेर पठाउने गरेको छ ।

प्रायःजसो मुद्दामा थुनछेक आदेश सम्पन्न भए पनि अन्तिम फैसला भने हुनसकेको छैन । मुद्दाअन्तर्गत कतिपय अवस्थामा बयान लिने, प्रमाण झिकाउने, प्रतिवादी चुक्ता नभएको अवस्थामा म्याद तामेली गर्नेजस्ता कतिपय मुद्दाका अङ्ग पु¥याउनुपर्ने रजिष्ट्रार भण्डारीले बताए ।

Advertisement

Advertisement

Advertisement