मदिरा व्यवसायी संघ काठमाडौंको चौथो साधारणसभा सम्पन्न

Advertisement

काठमाडौं । मदिरा व्यवसायी संघ काठमाडौले आफ्नो चौथो साधारणसभा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष महेन्द्रमान श्रेष्ठले उद्घाटन गरेका थिए । उनले कानुनको अधिनमा रहेर गरिने सबै प्रकारका पेशा–व्यवसाय को संरक्षण राज्यले गर्नुपर्ने धारणा राखे ।

मदिरा व्यवसायको बारेमा सरकारले पछिल्लो समय पुर्वाग्रही मानसिकताले व्यबहार गर्नखोजेको आरोप लगाउँदै श्रेष्ठले निजि क्षेत्रको लगानी सुरक्षाको लागि निरन्तर लागिपर्ने प्रतिबद्धता जाहेर गरे । आयातलाई प्रतिष्ठापन गर्ने उद्देश्यसहित अन्तरास्ट्रिय गुणस्तरको मदिरा उत्पादन गर्नुपर्ने उनको सुझाव थियो ।

विषेश अतिथि नेपाल मदिरा व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य सन्तोष पाण्डेले मदिरालाई निषेध नभई नियन्त्रण गर्नुपर्ने धारणा राखे ।

घरेलु मदिराले विभिन्न बिकृती निम्याएको भन्दै पाण्डेले घरेलु मदिरा पुर्णरुपमा प्रतिबन्ध लगाउन माग गरे । उनले भने, “आज पनि नेपालमा ६३ प्रतिशत घरेलु मदिरा खपत भइरहेको छ । घरेलु मदिरा एकातिर करको दायरामा छैन अर्कोतिर यसमा कुनै मापदण्ड र गुणस्तरको बिषयले प्रवेश पाउँदैन । त्यसैले मदिरा नियन्त्रण गर्ने हो भने सबैभन्दा पहिला घरेलु मदिरा उत्पादन, बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाउन जरुरी छ ।”

नेपाल मदिरा व्यवसायी महासंघका पुर्व अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका सदस्य राम श्रेष्ठले देशैभरका संघहरुमध्ये काठमाडौ सबैभन्दा सक्रिय प्रभावकारी रहेको अनुभव सुनाए । वर्तमान गृहमन्त्रीले मदिरा व्यवसायलाई ध्वस्त पार्न लागिपरेको आरोप लगाउदै श्रेष्ठले बिस्तृत अध्ययन गरेर मात्रै मदिरा नीति तर्जुमा गर्न सरकारलाई सुझाव दिए ।

मदिरा व्यवसायी संघ काठमाडौका अध्यक्ष तथा कार्यक्रमका सभापति सोनाम शेर्पाले पेशागत हकहितका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता जनाए । मदिरा उत्पादन, बिक्रीवितरण र सेवनलाई मर्यादित बनाउन आफुहरु पनि सकारात्मक रहेको बताउदै शेर्पाले व्यवसायलाई निषेध र निरुत्साहित नभई व्यवस्थित बनाउनेतर्फ ध्यान दिन सरकारलाई आग्रह गरे ।

मदिरा व्यवसायी संघ काठमाडौका उपाध्यक्ष गोविन्द बरालले मदिरा व्यवसायलाई थप व्यवस्थित र सामाजिक बनाउने, राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने, राजस्व चुहावट लगायत अन्य बिषयमा सरकारलाई सहयोग गर्न आफुहरु सधैं तयार रहेको बताए ।

साधारणसभामा काठमाडौका महासचिव राजन केसीले प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा संघका काठमाडौ, भक्तपुर र ललितपुरका पदाधिकारी लगायत व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement