पूर्वअर्थमन्त्री अधिकारीलाई आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री एवं सत्तारुढ नेकपाका नेता भरतमोहन अधिकारीको अन्त्यष्टि आइतबारै पशुपति आर्यघाटमा गरिने भएको छ । गए राति निधन भएका ८२ बर्षीय अधिकारीको पार्थिव शरीरलाई अहिले सोही पार्टीको कार्यालय धुम्बाराहीमा श्रद्धाञ्जली दिने काम भइरहेको छ ।

बिहान ९ बजेबाट सुरु भएको श्रद्धान्जली कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेताहरु सहभागी भएका थिए । ओली र प्रचण्डले संयुक्तरुपमा स्वर्गीय अधिकारीलाई पार्टीको झण्डा ओडाएका थिए ।

उनलाई मध्याह्न १२ बजेसम्म पार्टी कार्यालयमा राखिने र त्यसपछि शवयात्रा गर्दै पशुपति आर्यघाटमा पुर्याएर दाहसंस्कार गरिने नेकपाले जनाएको छ । साथै बसेको नेकपाको सचिवालय बैठकले अधिकारीको निधनको शोकमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने र पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

साथै, आउँदो फागुन २३ गते दिवंगत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको संयुक्त श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि गरेको छ । दमको बिरामी रहेका अधिकारीको स्वास्थ्यमा समस्या आएपछि पहिला मेडिसिटी अस्पतालमा र त्यसपछि ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो । पछिल्लो समयमा भेन्टिलेटरमा राखेर उपचार गरिएका उनको स्वास्थ्यमा सुधार नआएपछि परिवारले बाँच्ने आशा मारेको थियो । नेता अधिकारीकी श्रीमती र तीन छोरी छन् ।

Advertisement

Advertisement

Advertisement