ट्रम्पको कम्जोरी खोज्दै अमेरिकी सांसदहरु

Advertisement

वासिङ्टन । अमेरिकी सांसदहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पका कान्छा छोरा एवं आजीवन व्यावसायिक सहयोगी डोनाल्ड ट्रम्प जुनियर सहित ६० व्यक्ति तथा संस्थासँग रहेका कागजातको अनुसन्धान गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो पदीय शक्तिको दुरुपयोग गरेको आशंकामा सांसदहरुले औपचारिक छानबिन गर्न लागेका हुन् ।

अमेरिकी संसदको न्यायिक समितिका अध्यक्ष जेरी नाड्लरले अमेरिकी एबीसी टेलिभिजनसँग कुरा गर्दै डोनाल्ड ट्रम्प जुनियर र अलेन वाइसेलबर्ग समेतका ६० व्यक्ति तथा संस्थामाथि संसदले छानबिन गर्न लागेको जनकारी दिए ।

संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीका वरिष्ट सदस्य समेत रहनुभएका नाड्लरले अनुसन्धान मुख्यतः न्यायमा अबरोध, भ्रष्टाचार र शक्तिको दुरुपयोगमा केन्द्रित हुने बताए । हाल अमेरिकी संसदमा विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत छ ।

सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुससँग साँठगाँठ गरेको आरोपमा राष्ट्रपति ट्रम्पका विषयमा विशेष अनुसन्धाता रोबर्ट मुलरको समितिले पनि छानबिन गरिरहेको छ ।

धेरैजसो विश्लेषकहरुले राष्ट्रपति ट्रम्प विरुद्ध धेरैवटा सङ्घीय तथा राज्यस्तरमा भइरहेका अनुसन्धान पनि राष्ट्रपति ट्रम्पका लागि टाउको दुखाईको विषय बनेको जनाएका छन् । यी अनुसन्धानहरु खासगरी ट्रम्पका व्यवसायहरु तथा परोपकारी कार्यहरुका साथै कर छलीमा केन्द्रित भएका छन् ।

तर ट्रम्पले लगातार सङ्घर्ष गरिरहनुभएको छ, र ट्वीटरमार्फत निरन्तर विपक्षीमाथि तारो बनाइरहेका छन् । “म निर्दोश व्यक्ति हुँ तर ज्यादै खराब, विरोधाभाषी तथा भ्रष्ट व्यक्तिहरुले म विरुद्ध अत्याचार गरिएको छ,” उहाँले ट्वीट गर्दै पटकपटक भन्नुभएको छ ।

ट्रम्पका पूर्व निजी वकील माइकल कोहेनले पनि बुधबार संसदीय समिति समक्ष लामो बयान दिएका छन् । सांसदहरुले हालसम्म सार्वजनिक नभएका अरु तथ्यहरु बताउन र अमेरिकी जनतालाई वास्तविक कुरा भन्न कोहेनमाथि अनुरोध गरेका थिए ।

सांसद नाड्लरले कोहेनको कुराबाट पनि राष्ट्रपति ट्रम्पले न्यायमा अबरोध गरेको देखिएको बताए । यसअघि ट्रम्पकै दबाबमा प्रथम राष्ट्रिय सुरक्षा सल्लाहकार माइक फ्लाइनले समेत रुसी संलग्नता बारेमा आफूले झुटो बयान दिएको अमेरिकी संघीय जाँच ब्यूरो एफबीआई समक्ष स्वीकारेका थिए ।

ट्रम्पले रुसी अनुसन्धानमै विवाद भएपछि मे २०१७ मा एफबीआईका प्रमुख जेम्स कोमेलाई पनि एकाएक बर्खास्त गरेका थिए । राष्ट्रपति ट्रम्पले एनबीसीसँगको एक अन्तर्वार्तामा रुसी अनुसन्धान प्रकरणमा जेम्स कोमेको भूमिकाबाट आफू असन्तुष्ट भएको बताएका थिए ।

“कोहेनले राष्ट्रपतिमाथि विभिन्न शंकास्पद तथ्यहरु उजागर गरेका छन् । यी कार्यहरु राष्ट्रपति हुनुअघि र भएपछि पनि भएका छन्,” नाड्लरले बताए । “तैपनि अझै ठोस प्रमाण भेटिइसकेको छैन । तर हामीहरु उपयुक्त अनुसन्धान प्रारम्भ गर्दैछौं ।”

Advertisement

Advertisement

Advertisement